एसपीले गोली हान्ने धम्की दिएको कांग्रेस नेता यादवको आरोप

पुस १९, २०७८ | सिरहा

सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सिरहाका तत्कालीन प्रमुख एसपी हिराबहादुर पाण्डेले आफूलाई गोली हान्ने धम्की दिएको कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले आरोप लगाउनु भएको छ । 

यादवले सोमबार विज्ञप्ति जारी गरी मादक पदार्थ सेवन गरी आइतबार राति १:२५ बजे तत्कालीन एसपी पाण्डे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित घरमा आएर अपशब्द, गाली गलौज गर्दै गोली हान्ने धम्की दिएको जनाएका छन् । 

‘गालीगलौज गर्दै तिमीले सरुवा गरायौं, म तिमीलाई छाड्दिन, गोली हानिदिन्छु भन्दै पेस्तोल तेर्साएर आक्रमण प्रयास गरियो,’ कांग्रेस जिल्ला सभापति यादव र सचिव उपेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘तत्कालै नजिकको प्रहरी चौकीबाट आएका प्रहरी प्रशासनले उक्त आक्रमण प्रयासलाई विफल गराउँदै घर अगाडिबाट एसपी पाण्डेलाई गाडीमा लगेका थिए ।’ 

यसैबीच धम्की दिएको आरोपमा विरोध जनाउँदै कांग्रेस कार्यकर्ताहरुले आइतबार मध्याह्न पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिरोमाइल खण्ड एक घण्टासम्म अवरोध गरेका थिए । उनीहरुले टायर बालेर राजमार्गमा अवरोध पुर्‍याएका थिए । 

यसैबीच कांग्रेस सिरहाले विज्ञप्ति जारी गरी प्रहरी प्रमुख जस्तो व्यक्तिको गैरजिम्मेवार व्यवहार र ज्यानै मार्ने किसिमले गरेको घटनाको भत्र्सना गर्दै तत्कालीन प्रहरी प्रमुख एसपी पाण्डेलाई अविलम्ब कारवाहीको माग गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले एसपी हिरा बहादुर पाण्डे सोमबार बिहानै रमाना लिएर काठामाडौं गइसकेकाले यस बारेमा आफूले केही भन्न नसक्ने बताउनुभयो । 

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीले घटनाको बारेमा प्रहरी हेडक्वार्टरबाटै छानबिन भइरहेकोले यसबारेमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभयो । घटनाको बारेमा बुझ्न प्रदेश २ प्रहरी कार्यालयका डीआइजी उमेश रन्जितकार सोमबार यादवको जिरोमाइलस्थित घरमा आएका थिए ।

प्रहरी प्रधान कार्यालयले ६ महिनामै एसपी पाण्डेलाई तानेर उनको ठाउँमा एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ । एसपी पाण्डे ८ असार २०७८ मा जिल्ला प्रहरी कार्यालय सिरहा सरुवा भई आएका थिए ।


प्रतिक्रिया