सुर्खेत मेडिकल कलेज: गुरुयोजना र ईआईएको काम सुरु

पुस २२, २०७८

सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि सरकारले अनुमति दिएसँगै पुर्वाधार निर्माण गर्नुअघिका प्रक्रियागत कामहरु सुरु गरिएको छ । सुर्खेत मेडिकल कलेज पुर्वाधार निर्माण विकास आयोजनाका अनुसार कलेज स्थापनाका लागि अहिले गुरुयोजना निर्माण र वातावरणीय प्रभाव मुल्याङ्कन ईआईएको काम सुरु गरिएको हो । 

आयोजना निर्देशक हेमकुमार ढकालले गुरुयोजना निर्माण र ईआईएको काम सकिएपछि मात्रै सरकारले कति जग्गा अधिग्रहण गर्ने भन्नेबारे सर्भेपछि निर्णय गर्ने जानकारी दिनुभयो । उहाँले पहिला प्रक्रियागत कामहरु सकिएपछि मात्रै पुर्वाधारको काम हुने बताउनुभयो । आयोजना निर्देशक ढकालले चालू आर्थिक वर्षमा मेडिकल कलेजका लागि पूँजीगततर्फ छुट्टिएको दुई करोड बजेटले गुरुयोजना निर्माण र ईआईएमा खर्च गरिने जानकारी दिनुभयो । कलेजको गुरुयोजना निर्माणको जिम्मा ईभरसेफ ईन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रालि वालुवाटर काठमाडौंले लिएको छ । 

यस्तै, वातावरणीय प्रभाव मुल्यांकन (ईआईए) को जिम्मा पेसो कन्सल्टेन्सी प्रालि संखमुल काठमाडौंले लिएको छ । गुरुयोजना निर्माण र ईआईएको काम चालू आर्थिक वर्षमा नै सकिने आयोजना कार्यालयले जनाएको छ । प्रत्येक प्रदेशमा एक–एक वटा मेडिकल कलेज स्थापनागर्ने केन्द्र सरकारको रणनीति अनुसार सुर्खेतमा तीन बर्षदेखि मेडिकल कलेज स्थापनाका लागि पहल सुरु भएको हो । 


प्रतिक्रिया