कथित ‘शिवज्योती महामानव पिता’ बाट ठगीएको गुनासो

पुस २२, २०७८ | सुनसरी

धर्म र इश्वरमा अगाधरुपमा आस्था राख्ने सर्वसाधारणहरुलाई सुनसरीका एक कथित बाबाले आर्थिक र भौतिक सम्पती ठगी गरेको खुलासा भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ जव्दीस्थित ज्योती शिव सेवा केन्द्रका महामानव पिता भनेर चिनिने ६३ बर्षीय टीका प्रसाद विश्वकर्माले स्वर्गको देउता र पहिलै मरेका पितृ देखाउने भन्दै कैयौबाट लाखौं रुपैया ठगि गरेको पिडितहरुले बताएका छन् ।

महामानव पिता भन्ने विश्वकर्माले आफुलाई भगवान सम्झेर पैसा, सुनचाँदी, जग्गा जमिन अर्पण गरेमा सवै अनुयायीहरुलाई अलौकिक शक्तिले भरिपुर्ण बनाइदिने प्रलोभन देखाउने गरेका छन् । यस्तै, प्रलोभनमा पारेर विश्वकर्माले सर्वसाधारणलाई ठग्दै आएको पिडितहरुले बताए । उनले सप्तकोशीबाट रातको समयमा देवलोकका देवता बोलाएर देखाउने, कोरोना महामारीबाट पापीहरू नष्ट गर्न आफूले निर्णय गरेको, पहिले मरिसकेका पितृहरुलाई देखाउने र बोलाउने र त्यसबापत १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म लिने गरेको पिडितहरुले बताएका छन् ।

विहीबार १० जनाभन्दा बढी पिडितहरु धरानमा भेला भएर कथित महामानव पिताको भण्डाफोर गर्दै उनीहरुले आफुहरुलाई भ्रममा पारेर आर्थिक र भौतिक सम्पती ठगी गरेको बताए । विश्वकर्माले सर्वसाधारणलाई प्रभावित बनाएर ठग्न सजिलो बनाउनका लागि आफुले आफुलाई ‘सर्वपुज्य अनाकार अनन्त निराकार निरन्जन शिवज्योती महामानव पिता’ भनेर अलंकृत गरेका छन् ।

पिडित मध्ये धरान–८ बस्ने ५४ बर्षीय सिताराम मल्लले भन्नुभयो, ‘करीब १३ वर्ष अघि श्रीमति विरामी भएपछि औषधोउपचार गर्ने शिलशिलामा कसैले ती महामान पिताको नाम लिएर पठाए । विश्वास लागेर उनको पछि लागियो । उनले आफुलाई ‘ब्रम्हा विष्णु महेश्व देखि सृष्टीकर्ता नै मै हुँ’ भनेर विश्वास दिलाउथे । म तिमिहरुलाको आत्मामा देउता लगाइदिएर देउता बनाइदिन्छु भन्थे । मलाई जगदिश्वर शंकर देवको आत्मा लगाइदिएको छु भन्थे । जहिलै भेट पिच्छे दर्शन गर्दा भेटि चढाउदा गतबर्ष सम्ममा १५ लाख रुपैयाँ सकियो ।’

कथित महामानव पिताले भक्तजनका लागि गर्ने धार्मिक गतिविधि भने दिउँसो नभएर रातको ११ बजेदेखि मात्र सुरु गर्ने र २ बजेसम्म जारी राख्ने गरेको पिडितहरुले बताए । उनले गर्ने गतिविधि स्थल भने अरु ठाउ नभएर बराहक्षेत्रको चतराघाट नजिकै कोशी किनारमा रोज्ने गरेका छन् । ‘कहामानव पिता’ भनिने विकले भक्तजनलाई विश्वास दिलाउनकालागि महिला भए कसैलाई सरस्वतीको आत्मा, कसैलाई कालिदेवी, कसैलाई ज्वालादेवी, कसैलाई लक्ष्मी, कसैलाई दुर्गाको आत्मा लगाइदिएर देवता बनाएको दावी गर्दै आएका छन् । पुरुष भए सोही अनुसार पुरुष देवताका आत्मा लगाइदिएर पवित्र बनाइदिएको दावी गर्ने गरेको मल्लको भनाई छ ।

उहाँले भन्नुभयो, ‘ती पिताले देवलोकमा पठाउने भनेर हामीसंग नगद लाख लाख मागे । देवलोकमा भ्वाङ परेको छ । सिमेन्टले टाल्नका लागि पैसा चाहियो । सुनचाँदी नगद दिएर सहयोग गर भन्थे । हामीले पनि होला नि त धर्म होला भनेर जीवन भर नखाइ नखाई बचाएर राखेको सम्पती दिने गरेका थियौं ।’ पछिल्लो नौ महिना यता जव मल्ललाई महामानव पिता प्रति शंका लाग्न थाल्यो त्यसपछि भने आफ्नै तरिकाले खोजीनिति र अनुसन्धान गर्दै जादा महाठग भएको रहस्य खुलेको मल्लले बताउनुभयो ।

कोशी किनारमा रातीको समयमा देवलोकबाट देउता बोलाएर देखाउने, मरिसकेका पितृहरु देखाउने र बोल्न लगाउने गरेका कथित महामानव पितालाई त्यहीका उनका आफन्त र भाडामा लिएका व्यक्तिहरु नै नाटकीय शैलीमा देवलोकका देउता, पितृ बनेर आएको रहस्य खुले पछि टीका प्रसाद विश्वकर्मा महामानव पिता नभएर महाठग भएको निष्कर्ष निकालेको मल्लले बताए । उहाँले भन्नुभयो, ‘देवलोकमा पैसा पठाउने भनेर म बाट लिएको रकम लिएर उनी हिडे । मैले पनि उनले चालै नपाई पछ्याउदै गएको त उनैको छोराको भैंसि गोठमा पो मस्त पल्टिए भेटिए । त्यतिमात्र नभएर देवलोकका देवता भनेर कोशीको पानीबाट भित्रिबस्त्र मात्र लगाएको मान्छे राती देखाए । पछि त ती मान्छे एउटा वर्कसपमा काम गर्दै गरेको बेला फेला पारें । सोधी खोजी गर्दा त भाडामा पो महामानव पिताको निर्देशनमा नाटक गरेको पत्ता लाग्यो ।’

उनले कतिसम्म उल्लु बनाउदै आएका छन् भने रातको समयमा कोशी किनारबाट मोवाइलमार्फत देवलोकमा फोन सम्पर्क गरेको भन्दै सवैलाई आश्चार्यचकित बनाउदै आएका छन् । फोनमा पनि देवलोकबाट आवाज आउथ्यो, ‘त्यहा पृथ्वीमा पैसाको खाँचो छैन । यहाँ देवलोकमा खाँचो छ । जेजति सकिन्छ पठाउनु ।’ देवलोकबाट बोल्ने देवता भने सेटिङमा मिलाईएका बराहक्षेत्रकै मंगलमान मगर रहेको पिडितहरुले बताउनुभयो ।

देवलोकका देवताहरु भनेर कैयौपटक सर्वसाधारण धर्मभिरु भक्तजनलाई ८, ९, १०, ११ बर्ष उमेर समुहका बालबालिकालाई रातको समयमा कोशी किनारको पानीबाट निथ्रुक्कै भिजेको अवस्थामा निकालेर देखाउने गरेका पीडितहरुको भनाई छ । सबैले मानेको पिताको बोलीलाई विश्वास गरेर देवलोकका देवता रातमा भएपनि देख्न पाइयो भनेर हातमा लगाएको सुनको औठी, भेटि स्वरुप नगद चढाउने गरेको धरान–९ बस्ने अर्का पिडित पटेल सिंह (पन्जावी नेपाली) ले बताउनुभयो ।

पटेलसिंह धरान–१५ बाझगरास्थित केके इन्टरनेश्नल स्कुलका विद्यार्थी बोक्ने बसका चालक हुनुहुन्छ । श्रीमती सरिता कौर विरामी भएपछि उपचार गर्ने शिलशिलामा महामानव पिताकोमा पुगेपछि उहाँ ठगिनुभएको हो । महामानव पिताले आफूहरुबाट १० लाख रुपैयाँ ठगेको सिंह दम्पतीको भनाई छ ।

महामानव पिताले सवै अनुयायीहरुलाई आफ्नो कुलपितृको पुजा गर्न नदिएर खुट्टामा पुजा गरी छर्किएको पानी पिउन लगाउने गरेको पनि पिडितहरुले बताए । धरान–१५ महादेवचोक बस्ने ५१ बर्षीया मथुरा थापाले त महामावन पिताको नाममा भेटी मात्र २० लाख रुपैयाँ सकेको बताइन् । तै पनि उनको शारिरिक मानसिक रोग निको भएको छैन । महामानव पिता भन्ने विश्वकर्माले थापाको आत्माबाट देवता निकालि दिएकाले निको नभएको बताउदै आएका छन् ।

कथित महामानव पिताले काठमाडौ, पोखराका अनुयायी मात्र नठगेर विदेशबाट आएका फ्रान्स र अमेरिकाका नागरिकलाई समेत ठग्न भ्याएको धरान–१३ पशुपतिमार्गकी शान्ति लामिछानेले बताउनुभयो ।

धरान– १९ चौकीबारी बस्ने खड्गबहादुर विश्वकर्मा र उनका पुर्व व्रिटिगोर्खा सैनिक भाई तिलबहादुर सेन्च्युरीले चतरा नजिकैको पुल्ठेगौडामा रहेको आफ्नो अविवाहित वृद्धा फुपूले भोग चलन गर्दै आएको करिब डेढ बिघा जग्गा कथित महामानव पिताले हडपेको बताए । उनीहरुका अनुसार फुपूलाई अचेत पारेर सहीछाप गराएर वग्गा कब्जा गरेका छन् ।सप्तकोशीमा देवलोकका देवता देखाउने भन्दै ठग्दै आएका विश्वकर्माको कर्तुत एकपछि अर्को गर्दै आफ्नै भक्तजन अनुयायीहरुले थाहा पाउन थालेपछि समुह बनाएर बराहक्षेत्रको महेन्द्रनगरस्थित चक्रघट्टीको इलाका प्रहरी कार्यालयमा उजुरी गर्न जादा उजुरी दर्ता गरेपनि प्रहरीले चासो नदिएर ‘आपसमा मिल्न’ मात्र दवाव दिएको पिडितहरुले बताए । 

प्रहरीले पनि चासो नदिएपछि बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल र उपप्रमुख कमला मगरकोमा पुगेका थिए । प्रमुख खनाल आफै नै पहिले नै महामानव पिताबाट ठगिएको जानकारी पाएपछि जिल्ला प्रसासन कार्यालयमा पिडितहरु बुधबार उजुरी दिन पुगेका थिए । तर, जिल्ला प्रशासनले पनि ठगीको अरोप लागेका महामानव पितालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउनुको सट्टा पुस २१ गतेको मितिमा बराहक्षेत्र नगरपालिकालाई पत्र लेख्दै सत्यतथ्य के भएको हो खुलाई प्रतिवेदन दिनुमात्र भनेपछि पिडितहरु झन मानसिक तनावमा रहेका छन् ।

उनीहरुले प्रहरी प्रसासनबाट न्याय नपाएपछि संचारमाध्यमको सहारा लिन बाध्य भएको बताए । यसैवीच महामानव पिता उर्फ टिका प्रसाद विश्वकर्मा गत असारदेखि काठमाडौको बल्खुमा बस्न थालेको बताइएको छ । यसअघि ०६८ सालमा उनका अनुयायीहरुले बराहक्षेत्रकै महेन्द्र नगरमा मन्दीर बनाउन भनेर साढे ७ कठ्ठा जग्गा २५ लाखमा खरिद गरेका थिए । तर, सो जग्गा ३० बर्षीया निलम माया मगरको नाममा रहेको पिडितहरुले बताए । धर्म र इश्वरको नाममा ठगी गरेर कमाएको रकमले विश्वकर्माले धरान, काठमाडौलगायतमा करोडौंको घर जग्गा जमिन जोडेको पनि बताइएको छ ।


प्रतिक्रिया