कर्मचारी नै संक्रमित भएपछि पीसीआर परीक्षण बन्द

माघ २, २०७८ | पूर्वी नवलपरासी

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पूर्वी नवलपरासीको एक मात्र पीसीआर परीक्षण प्रयोगशाला दुई दिनदेखि बन्द छ । प्रयोगशालामा कार्यरत दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि प्रयोगशाला बन्द भएको हो । 

जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार पीसीआर परीक्षण बन्द भएपनि एन्टिजेन परीक्षण भने रोकिएको छैन । प्रयोगशाला सञ्चालनका लागि प्रदेश स्वास्थ्य मन्त्रालयबाट दक्ष कर्मचारी माग गरिएको र पठाउने प्रकृयामा रहेको सुवेदीले जाकारी दिनुभयो । 

अस्पतालले एक सूचना जारी गरेर सामान्य अवस्थाका बिरामीलाई नआउन आग्रह गरेको सुवेदीले जानकारी दिनुभयो । पीसीआर ल्याबमा कार्यरत कर्मचारी करारमा राखिएको र उनीहरुको पुस मसान्तमा म्याद सकिएको थियो । 

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिनभित्र कर्मचारी खटाउने जानकारी दिएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा दैनिक २ सय ५० जनासम्मको पीसीआर परीक्षण गर्न सकिन्छ । 

जिल्ला अस्पतालमा जनशक्ति ब्यवस्थापन हुन सके परीक्षण दर बढाउन सकिन्छ । जिल्ला भरिका कोरोना संक्रमतिको पीसीआर र एन्टिजेन परीक्षण जिल्ला अस्पताल बाहेक अन्यत्र हुँदैन । अत्यावश्यक अवस्थामा सर्वसाधारण चितवनका अस्पताल धाउन बाध्य छन् । 


प्रतिक्रिया