युनिसेफ भन्छ– नेपालमा अझै पनि पोषणको क्षेत्रमा थुप्रै चुनौति छन्

रेडियो कान्तिपुर संवाददाता

माघ ६, २०७८ | काठमाडौं


बालबालिकासम्वन्धी अन्तराष्ट्रिय संस्था युनिसेफले जारी गरेको ‘मातृ तथा बाल पोषण जर्नल’का अनुसार राजनीतिक तथा आर्थिक अस्थिरताका बीचमा नेपालले विगतमा बालबालिकामा हुने पुड्कोपनमा कमी ल्याउन र पोषण सेवाहरूको वृद्धि गरेपनि अझै पनि पोषणको क्षेत्रमा थुप्रै चुनौतिहरूको सामना गरिरहेको देखाएको छ ।

दिगो विकासका लक्ष्यहरूले बालबालिकाको पुड्कोपन र ख्याउटेपनको न्युनिकरणका लागि निर्दिष्ट गरेको गति, परिमाण र समानताका सूचकहरू अनुसार ‘आवश्यक गतिमा’अघि नबढिरहेको र कोभिड–१९ महामारीका कारण अवस्था अझ बिग्रन सक्ने सम्भावना रहेको युनिसेफले जनाएको छ ।

जर्नलका अनुसार स्वास्थ्य तथा पोषण सेवाको विस्तार, घरपरिवारको आम्दानीमा वृद्धि र अभिभावक शिक्षा तथा सरसफाईमा आएका सुधारहरूका कारण २ वर्ष मुनिका बालबालिकामा पुड्कोपन २४ प्रतिशतले घटेको देखाएको छ ।

यसैसन्दर्भमा नेपालका लागि यूरोपियन युनियनका राजदूत नोना डिप्रेजले भन्नुभएको छ– “मातृ तथा बाल पोषण जर्नलमा उल्लेख गरिएको कुपोषित बालबालिकाको संख्यामा आएको कमी, स्वास्थ्य सुविधा तथा सेवाहरूमा भएको सुधार तथा विगत तीन दशकयता नेपालमा अपनाइएको बहुक्षेत्रीय पद्धतिले नेपाल सरकारको दृढ प्रतिबद्धतालाई झल्काउँछन् ।”

यसैवीच, युनिसेफले बालबालिका, किशोर–किशोरीहरू र आमाहरूका लागि पोषणयुक्त, सुरक्षित, सुलभ र दिगो आहारको पहुँचमा सुधार गर्न आग्रह गरेको छ । 


प्रतिक्रिया