नोबेलले विद्यार्थीको पढाई रोकेको विषयमा छानबिन समिति गठन

नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाएका विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा आन्दोलनरत पीडित विद्यार्थीले बिहीबार कलेज सञ्चालक सुनिल शर्मा प्रतिकात्मक शव यात्रा प्रदर्शन गर्दै । तस्बिर : देवनारायण साह/रेडियो कान्तिपुर 

माघ ७, २०७८ | मोरङ

प्रदेश १ सरकारले विराटनगरस्थित नोबेल मेडिकल कलेजले एमबीबीएसमा नयाँ भर्ना भएका विद्यार्थीको पठन पाठनमा रोक लगाएको बारे छानबिन गर्न समिति गठन गरेको छ । 

सामाजिक विकास मन्त्रालयका अस्पताल तथा चिकित्सक महाशाखा प्रमुख सागर प्रसाईंको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । छानबिन समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून उपसचिव सदस्य रहेको सामाजिक विकास मन्त्री जयराम यादवले बताउनुभयो । 

नोबेल मेडिकल कलेजले एमबीबीएस अध्ययन गर्न आएकामध्ये अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीको पठन पाठन रोकेकाले विद्यार्थी आन्दोलनमा उत्रिनु परेको लगायत विषयमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न समितिलाई समय दिईएको छ । 

छानबिन समितिले बुझाएको प्रतिवेदन संघीय सरकारलाई पठाएर विद्यार्थीको समस्या समाधानको पहल गरिने सामाजिक विकास मन्त्री यादवले बताउनुभयो । 

कलेजले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा विपरीत पठनपाठन सुरु नै नगरी चार लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीदेखि जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएर न्यायका लागि संघर्ष गर्दै आएका छन् । तर, हालसम्म सो विषयमा कुनै सुनुवाइ हुन सकेको छैन ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि कुल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् । तर, कलेज सञ्चालक सुनिल शर्मा अतिरिक्त २० लाख शुल्क बुझाउने सम्झौता पत्रमा हस्ताक्षर गराएपछि मात्रै पठनपाठन सुरु गर्ने अडान लिएपछि विद्यार्थीहरु आन्दोलनरत छन् । 

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै पुस १४ गतेदेखि पठनपाठनमा रोक लगाएको छ । 

कलेजमा रहेको एक सय विद्यार्थीको कोटामा भर्ना भएका ९६ विद्यार्थीमध्ये ९ जना भारतीय, १० जना छात्रवृत्तिका र पाँच जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई पढाइरहेको छ । तर आफूहरुलाई अतिरिक्त शुल्क नबुझाएको भन्दै कलेज प्रवेशमा नै रोक लगाउने र केही अभिभावकलाई दवाव र प्रभावमा पारेर जबरजस्ती सम्झौता गराएकाले आन्दोलनलाई निरन्तरता दिँदै आएको पीडित विद्यार्थीहरुले गुनासो पोखे ।


प्रतिक्रिया