बागलुङमा बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन सुरु

बागलुङस्थित विद्यालय तहका बालबालिकालाई खोप लगाईदै । तस्बिर: प्रकाश बराल/रेडियो कान्तिपुर । 

माघ ९, २०७८ | बागलुङ

बागलुङका बालबालिकालाई आइतबारबाट कोरोना विरुद्धको खोप दिन थालिएको छ । १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको मोर्डना खोप दिन थालिएको हो । 

पहिलो चरणमा बागलुङ नगरपालिका भित्रका ६ हजार ५ सय बालबालिकालाई यो खोप दिइने नगरको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो । ‘केही खोप केन्द्र तोकेर बालबालिकालाई खोप लगाएका छौं,’ खनालले भन्नुभयो, ‘यो खोपपछि बिद्यालय तहमा पनि जोखिक न्युनिकरण हुनेछ ।’ 

सरकारले यसअघि दीर्घ रोग भएका बालबालिकालाई भने जोन्सन एण्ड जोन्सन खोप लगाइसकेको थियो । सदरमुकाम क्षेत्रमा सबै हिसाबले जोखिम हुने भएकोले पहिलो चरणको खोप पनि सदरमुकाममै लगाइएको नगरको स्वास्थ्य शाखाका प्रमुख खनालले बताउनुभयो । 

‘यहाँ भिडभाड बढी हुने, धेरै बालबालिका पनि यही भएकोले खोप लगायौं’ उहाँले भन्नुभयो, ‘माघ १४ गतेसम्म यहाँ खोप लगाएपछि अन्यत्रको थालनी हुनेछ ।’ कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकालाई भने खोप नलगाउन सल्लाह दिएको उहाँले जानकारी दिनुभयो । 

कोरोना विरुद्धको खोप लगाएको कार्ड तथा बुस्टर डोज लगाउन चाहनेले लक्षण देखिएको जानकारी नदिइ लगाउने गरेको समेत भेटिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सद देवप्रकाश घिमिरेले बताउनुभयो ।

‘लक्षण देखिएको छ भने अहिले लगाउन भएन, मापदण्डमा परेकालाई पछि पनि लगाइन्छ,’ घिमिरेले भन्नुभयो, ‘बिरामीको संख्या बढ्नुमा त्यो पनि कारण बनेको छ ।’ बालबालिकालाई भने पहिलो चरणमा खोप केन्द्रमा ल्याउन कतिपय अभिभावकले आनाकानी गरेका थिए । 

‘पहिलो दिन भएर थोरै आएका हुन्, भोलि पर्सि सम्ममा अरु पनि आउँछन्’ सदरमुकामस्थित न्यू ओएसीस माविका शिक्षक विवेक शर्माले भन्नुभयो, ‘बालबालिकाले खोप लगाएभने मापदण्ड पूरा गरेर विद्यालय खोल्न पनि सजिलो होला ।’ खोप लगाएका बालबालिकाले भने विद्यालय गएर पढ्न पाउने आशा पूरा हुने शर्माले बताउनुभयो ।


प्रतिक्रिया