अर्घाखाँची भनेर १५ वर्षीया बालिकालाई वीरगञ्ज पुर्‍याएपछि...

माघ ११, २०७८ | पर्सा

बालिकालाई फकाएर भारत लैजान खोज्ने एक युवक वीरगञ्जस्थित नेपाल–भारत सीमाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची घर भई हाल भारतको आसाम घर बताउने २८ वर्षीय राजु अधिकारी छन् । 

नेपाल–भारत सीमास्थित माइती नेपालका सीमा पहरेदारहरुले सोमबार साँझ शंका लागि सोधपुछ गरेपछि यो रहस्य खुलेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालका अनुसार अधिकारीले बैतडीको लिस्टी नगरपालिका–२ की १५ वर्षीया बालिकालाई फकाएर वीरगञ्जसम्म ल्याएका थिए । 

माघ ७ गते घरबाट कपि किनेर आउँछु भनेर भनेर निस्केकी राधा त्यसपछि घर फर्किएकी थिइनन् । माइती नेपाल आवधिक गृह वीरगञ्जकी प्रमुख संगीता पुरीका अनुसार लामो समयदेखि मोबाइलबाट राधाको सम्पर्कमा रहेका राजुले आफ्नो घर अर्घाखाँची रहेको तथा नारायणघाटमा र कपडाको पसल रहेको बताउँदै फोनबाटै प्रेमजालमा पार्ने प्रयास गरेका थिए । 

प्रलोभनमा परी ती बालिका घरबाट भागेर बैतडीको छतबाज चौराहा बजारसम्म आईपुगिन् । सुरुमा आफ्नो घरमा बस्ने र पछि उमेर भएपछि विवाह समेत गर्ने प्रलोभन राजुले ती बालिकालाई दिएका थिए । त्यहाँ राजुले राधालाई पहिलो पल्ट भेटेका थिए । 

ती बालिका आत्तिएर घर फर्किन खोज्दा राजुले उनलाई कब्जामा लिएर त्यहाँबाट ट्याक्सीमा राखेर बैतडी बजारसम्म ल्याएका थिए । बैतडीमा एक रात होटेलमा बास बस्दा राजुले राधालाई जबरजस्ती करणीको प्रयास पनि गरेका थिए । 

बैतडीबाट आफ्नो घर अर्घाखाँची जाने भन्दै राजुले राधालाई वीरगञ्जसम्म ल्याएका थिए । वीरगञ्ज हुँदै भारत जान खोज्दा बाटोमा कसैले सोधपुछ गरे ‘आफूहरु नातामा साख्खै दाजु बहिनी रहेको र आफ्नो नाम लक्ष्मी अधिकारी भन्नु’ भनेर राजुले ती बालिकालाई सिकाएका थिए ।

पक्राउ परेका अधिकारीमाथि मानव बेचबिखन मुद्दा चलाइएको र आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरीएको डीएसपी खनालले जानकारी दिनुभयो । 


प्रतिक्रिया