वीपी प्रतिष्ठानमा नि:शुल्क आएको सामानको शुल्क लिएपछि मेडिकल काउन्सिलको छानविन

माघ १५, २०७८

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा आएको मेडिकल उपकरण विरामीलाई नि:शुल्क उपलव्ध गराउनु पर्नेमा चिकित्सकले नै शुल्क लिएको विषयमा नेपाल मेडिकल काउन्सिलले छानविन सुरु गरेको छ । काउन्सिलबाट डा हरिहर वस्तीको संयोजकत्वमा पुगेको तीन सदस्यीय टोलीले आज दिनभर छानविनपछि फर्केको छ । टोली हिजो नै धरान पुगेको थियो । विदेशी दातृ संस्था (अमेरिका) बाट पठाइएको साइन कम्पनीको स्टिल रड विरामी उपचारमा प्रयोग गर्दा प्रतिष्ठानको हाडजोर्नी विभागका चिकित्सकहरु बीच अप्रेशन थिएटर भित्रै विवाद मात्र नभएर काउन्सिल र प्रहरी प्रशासनमै उजुरी परेको थियो । सोही उजुरीको आधारमा काउन्सिलले छानविन र सोधपुछ गरेको हो । एकसाता भित्र प्रतिवेदन तयार गरी काउन्सिलमा बुझाउने संयोजक डा हरिहर वस्तीले बताउनुभयो । 

प्रतिष्ठानको हाडजोर्नी विभागमा गत पुस २९ गते चिकित्सकहरु बीच विवाद भएको थियो । विदेशी दातृ निकायले नि:शुल्क उपलव्ध गराएको स्टिलको रड विरामीलाई निशुल्क नै उपयोग गर्न दिने बारे विवाद भएको थियो । तर हाडजोर्नी विभागका एसोशिएट चिकित्सक डा रोशनप्रसाद साह कलवारले उक्त सामान प्रतिष्ठानको हाडजोर्नी विभागमा र प्रतिष्ठानकै स्टोरमा दाखिला नगरी व्यक्तिगत रुपमा राखेर विरामीबाट शुल्क असुलेको रहस्य सार्वजनिक भएसंगै विवाद उत्कर्षमा पुगेको थियो । हाडजोर्नी विभागका डा कलवारले गत पुस २९ गते सप्तरीको कल्याणपुर नगरपालिका–११ बस्ने ललितकुमार साहको खुट्टाको शल्यक्रिया गर्दा अप्रेशन थिएटर भित्रै चिकित्सक बीच विवाद र मतभेद भएपछि मेडिकल काउन्सिल सम्म उजुरी पुगेको थियो । 

अप्रेशन थिएटरमा एनेस्थेसिया गरेर बेहोस भएका विरामी ललितकुमारको खुट्टामा स्टिलको रड लगाउनु पर्ने थियो । तर डा कलवारले चिकित्साशास्त्रको आचार संहितालाई समेत चुनौती दिदैं सफाइ र निर्मलीकरण नगरी हातैमा बोकेर ल्याइ ललितकुमारको खुट्टामा लगाएका थिए । अन्य सहकर्मी चिकित्सकहरुले विभाग र प्रतिष्ठानको स्टोरमा दाखिला नभएको साइन कम्पनीको स्टिल रड बिरामीमा प्रयोग गर्न सहयोग नगरेपछि अप्रेशन थिएटरमा उनी एक्लैले रड लगाइदिएका थिए । रड सही ठाउँमा नबसेपछि डा अमित लिम्बु, डा अमितविक्रम साह र ओटी इन्चार्ज नर्सहरुले पहिले लगाएको रड निकालेर विभाग र प्रतिष्ठानको स्टोरमा दाखिला भएको निर्मलीकरण गरेर राखेको ग्रिन्स कम्पनीको स्टिल रड लगाइदिएका थिए । अप्रेशन थिएटरमा तीन घण्टामा सकिने काम ८ घण्टा लागेको थियो । 

सोही विषयलाई लिएर डा कलवारले विभागले आफुलाई असहयोग गरेको र अप्रेशन थिएटरमा बिरामीको जोखिम बढाएको भन्दै मेडिकल काउन्सिलमा उजुरी दिएका थिए भने उनकै विरुद्ध बिरामीहरुले पनि नि:शुल्क आएको रडको शुल्क लिएको भन्दै काउन्सिलमै कारवाहीका लागि उजुरी दिएका थिए । बिरामीका लागि नि:शुल्क उपलव्ध स्टिल रडको विषयमा विवाद चर्किएपछि छानविनका लागि पुगेको मेडिकल काउन्सिलको टोलीले विभागीय प्रमुख डा विक्रम श्रेष्ठ, डा अमित लिम्बु, डा अमित विक्रम साह, डा कलवार र ओटी इन्चार्ज नर्सलगायत गरी १० जनासंग सोधपुछ गरेको छ । 


प्रतिक्रिया