भूमि समस्या समाधान गर्न भूमि आयोग र तिलोत्तमाबीच सम्झौता

फाल्गुन ४, २०७८ | तिलोत्तमा

भूमि सम्बन्धी समस्या समाधानका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँग कार्यसम्झौता गरेको छ । नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न बुधबार आयोगसँग कार्यसम्झौता गरेको हो । 

नगर प्रमुख बासुदेव घिमिरे र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली आयोगको काठमाडौंस्थित कार्यालयमैं पुगेर कार्यसम्झौता गरेसंगै अब भूमि समस्या समाधानका बाँकी काम अघि बढ्ने छन् । 

नगरपालिकामा अघिल्लो सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग मार्फत् भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको लगत संकलन भईसकेको छ । 

संकलित तथ्यांक प्रविष्ट गर्ने र जग्गा नापजाँचको लागि कन्ट्रोल पोइन्ट राख्ने कार्य जारी रहँदा अघिल्लो आयोग विघटन भएपछि ती कार्य रोकिएका थिए । वर्तमान सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोगसँग कार्यसम्झौता गरेसंगै अब प्रक्रिया अनुसार भूमि समस्या समाधानको काम अघि बढ्ने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । 

तिलोत्तमा नगरपालिकामा झण्डै ८ हजार जनाले भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन फारम भरेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको रुपमा ७ हजार ९ सय १८ जनाले लगत संकलन फारम भरेको नगरपालिकाले जनाएको छ । 

तिलोत्तमाका ६ सय १९ जनाले भूमिहीन दलित, १ हजार ७ सय ४० जनाले भूमिहीन सुकुम्बासी र ५ हजार ५ सय ५९ जनाले अव्यवस्थित बसोबासीको लगत संकलन फारम भरेका हुन् ।

नगरपालिकाका अनुसार सबैभन्दा बढी वडा नम्बर ११ बाट आयोगको लगत संकलन फारम भरिएको छ भने वडा १७ मा सबैभन्दा कमले फारम भरेका छन् । नगरपालिकाले आयोगको इकाई कार्यालय स्थापना गरेर आयोगको सूचना अनुसार गत वर्षको माघ ९ गतेबाट लगत संकलन कार्य सुरु गरेको थियो । 

जनप्रतिनिधि तथा कर्मचारीहरु टोल–टोलमै पुगेर लगत संकलन गरेका थिए । वडाहरुबाट प्राप्त लगतलाई कम्प्युटरमा प्रविष्ट गर्ने, फाईल स्क्यानिङ गर्ने लगायत काम अघि बढ्दै गर्दा संघीय सरकार परिवर्तनपछि अघिल्लो आयोग विघटन भएपछि काम रोकिएको थियो ।


प्रतिक्रिया