सफा हिमाल अभियान-२०२२ लाई बजेट अभाव

फाल्गुन १०, २०७८ | काठमाडौं

नेपाली सेनाले सफा हिमाल अभियान–२०२२ आगामी चैत २२ गतेबाट सुरु गर्ने भएको छ । सफा हिमाल अभियान आगामी जेठ २२ गते समापन हुने नेपाली सेनाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । 

राष्ट्रिय वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायकरथी हिमांशु खड्काले यो पटक ४ वटा हिमालबाट फोहोर संकलन गरिने बताउनुभयो । सैनिक मुख्यालय जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सहायकरथी खड्काले सर्वोच्च शिखर सगरमाथा सहित कञ्चनजंगघा, मनास्लु र ल्होत्से हिमालबाट फोहोर संकलन गरिने जानकारी दिनुभयो । 

नेपाली सेनाले हरेक वर्ष सफा हिमाल अभियान गर्छ । सफा हिमाल अभियान अन्तर्गत गत वर्ष पर्यटकको प्रमुख आकर्षण सगरमाथा, ल्होत्से, मकालु, धवलागिरी, पुमोरी र आमादब्लम हिमालबाट फोहोर संकलन गरेको थियो ।

अभियानको एकीकृत रुपमा अगुवाई सेनाले गरेपनि यसमा पर्यटन विभाग, पर्यटन बोर्डसहित विभिन्न निकायको सहकार्य मै सफा हिमाल अभियान हुनेछ । हिमालबाट फोहोर संकलनका लागि यो वर्ष बजेट अपुग हुन सक्ने सेनाले जनाएको छ । 

सफा हिमाल अभियानका लागि १२ करोड ९६ लाख ७० हजार रुपैयाँ आवश्यक पर्ने सेनाले अनुमान गरेको छ । तर, सरकारले सफा हिमाल अभिानका लागि ८ करोड ३० लाख रुपैयाँ मात्र दिएको । हिमाल सफाइ अभियानका लागि करीब ४ करोड ६६ लाख रुपैयाँ अपुग हुने सहायकरथी खड्काले बताउनुभयो । 

हिमालबाट मात्र नेपालले वार्षिक ४५ करोड बढी राजस्व संकलन गर्छ । हिमाल आरोहण गर्ने आरोही तथा उनीहरुका सहयोगीले प्रयोग गर्ने सड्ने तथा नसड्ने फोहोरले हिमाली सौन्दर्य र वातावरण नै संकटापन्न हुँदै गएकाले अभियानले हिमाललाई पुनर्जीवन दिने आशा गरिएको छ । 

हिमालसँग जोडिएका स्थानीय सरकार र प्रदेश सरकारलाई समेत अभियानमा सहभागी गराउने र सबैले अपनत्व ग्रहण गर्न सक्नुपर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी खड्काले बताउनुभयो । 

हिमाल आरोहणमा जानेले अक्सिजनका सिलिण्डर, टेन्ट, टिनका बट्टा, मट्टीतेलको भाडा, स्टोभ लगायत सामग्री हिमाली क्षेत्रमा नै छाडिदिने भएकाले सफाईमा चुनौती देखिएको हो । सगरमाथामा मात्र करीब १ लाख ४० हजार टन फोहोर रहेको अनुमान गरिएको छ । यस्तै, ३ सय बढी आरोहीका मृत शरीर रहेको अनुमान छ ।   


प्रतिक्रिया