बीरगन्जबाट हराएकी युवतीको भारतबाट उद्धार

फाल्गुन १८, २०७८

दुई महिनाभन्दा बढी समयदेखि हराएकी बीरगन्जकी १७ वर्षीया युवतीलाई भारतको मैसुर क्षेत्रबाट उद्धार गरिएको छ । गत पुस–५ गतेबाट घर परिवारको सम्पर्कबाट टाडिएकी सुनिता(नाम परिवर्तन)लाई ‘किन इन्डिया’ संस्थाले उद्धार गरेर दिल्ली ल्याएको छ । युवतीको परिवारलाई भारतीय नम्बरको मोबाइलबाट फोन तथा म्यासेज गरेर ४० लाखको फिरौति माग गरिएको थियो । पछि १० लाख सम्म पठाए युवतीलाई छाड्ने जानकारी दिइएको थियो । त्यसका लागि भारतीय बैंकको खाता नम्बर सहितको विवरण पीडित युवतीका परिवारलाई पठाइएको थियो । युवतीका परिवारजनले पर्सा प्रहरीमा उजुरी गरेपछि उनको खोजवीन थालिएको हो ।

दिल्लीमा नेपाली बालबालिका र महिलाको संरक्षण तथा उद्दार कार्यमा सक्रिय आफन्त नेपालको भागिनी संस्था ‘किन इन्डिया’ ले दिल्ली महिला आयोग र दिल्ली प्रहरीको मद्दत लिएर युवतीको खोजतलासमा जुटेको थियो । सुरुमा दिल्लीकै नोयडमा लोकेसन ट्रयाक भएको भएको थियो, त्यहीँबाट खोजी गर्दै जाँदा अपराधीहरुको लोकेसन चेन्ज हुँदै गएको र मंगलबार मैसुर क्षेत्रबाट युवतीको उद्धार गरिएको ‘किन इन्डिया’ का प्रमुख नविन जोशीले बताउनुभयो । ‘लगातार १५ दिनदेखि यो केसमा भिडिरहेको थिए, दिल्लीदेखि बैंग्लोर सम्मका प्रहरीको सहयोग लिएर सफलता हात लागेको छ,’ उनले भने ‘पीडित युवतीको अवस्था ठीक छैन । उनी अहिले केही बताउन सक्ने अवस्थामा छैनन् ।’ प्रहरीले एकजना अभियुक्तलाई पनि पक्राउ गरेको छ । नोयडाबाट बैंग्लोर पुगेको सूचना आयो, बैंग्लोर पुगेपछि त्यहाँबाट पनि अन्त गाइसकेको रहेछन्, पछि पछ्याउँदै जाँदा बैंग्लोर र मैसुरबीचको राजमार्ग क्षेत्रबाट पीडितलाई उद्धार गरिएको जोशीले बताउनुभयो । दिल्ली प्रशासनकाके रेखदेखमा युवतीलाई एउटा आश्रय स्थलमा राखिएको छ । उनी सबै घटनाक्रम बताउन सक्ने सहज स्थितिमा आएपछि मात्रै अरु धेरै कुरा खुल्न सक्ने उहाँले बताउनुभयो ।  


प्रतिक्रिया