पल शाहविरुद्ध जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्दा दर्ता

चैत्र ३, २०७८ | पूर्वी नवलपरासी

किशोरीमाथि बलात्कार गरेको अभियोगमा अनुसन्धानमा रहेका अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्दा दर्ता गरेको छ । एक किशोरीले आफूलाई एक वर्षअघि गैंडाकोटको एक होटलमा बलात्कार गरेको भन्दै शाहविरुद्ध इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएकी थिइन् । 

सोही उजुरीको आधारमा कावासोतीस्थित सरकारी वकिलको कार्यालयले बिहीबार शाहविरुद्ध मुद्दा दर्ता गरेको हो । गत वर्षको चैत ७ गते एउटा गीतको सुटिङ्को क्रममा गैंडाकोटमा राति शाहले आफूलाई बलात्कार गरेको भन्दै ती किशोरीले गैंडाकोट प्रहरीमा तीन साता अघि उजुरी दिएकी थिइन् । 

एकैदिन सकिने छायांकनलाई दुई दिन लगाउन लगाएर राति रक्सी खुवाएर बलात्कार गरेको आरोप शाहमाथि छ । जिल्ला प्रहरी कार्यालयका अुनसार सरकारी वकिलले शाहलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्ति दिनपर्ने माग दाबी गर्दै मुद्दा गर्दा गरेको हो । 

गत चैत ७ गते बलात्कार गरेको अभियोगका आधारमा एक वर्ष भित्र मुद्दा दर्ता गरिसक्न पर्ने कानूनी प्रावधान छ । त्यसै अनुसार ४ दिन अघि नै अदालतमा मुद्दा दर्ता भएको प्रहरीको भनाई छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि ती किशोरीले बलात्कार आरोपमा उजुरी दिएकी छन् । 

तनहुँ भन्दा पहिला पूर्वी नवलपरासी अदालतमा मुद्दा दर्ता भएका कारण र घटना एउटै प्रकृतिको भएका कारण एउटै अदालत (तनहुँ र पूर्वी नवलपरासी) मा मुद्दा आउन सक्ने प्रहरीको भनाई छ । प्रहरी स्रोतले भन्यो, ‘एकै प्रकृतिको मुद्दा भएका कारण एउटै जिल्ला अदालतमा हेर्ने पनि चलन छ । यो अदालतको तजबिजको कुरा भयो ।’


प्रतिक्रिया