निर्वाचन निष्पक्ष र भयरहीत बनाउन सबैको प्रतिवद्धता आवश्यक : प्रधानमन्त्री देउवा

चैत्र ५, २०७८ | काभ्रेपलाञ्चोक
प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहीत बनाउन सबैको प्रतिवद्धता आवश्यक भएको बताउनुभएको छ । तेमाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन काभ्रेका पुगेका प्रधानमन्त्री देउवाले मुलुक स्थानीय निकायको संघारमा रहेको भन्दै निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहीत बनाउन सबैको प्रतिवद्धता आवश्यक भएको बताउनुभएको हो ।
उहाँले नवनिर्मित प्रशासकीय भवनबाट जनतालाई दिने सेवा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । तेमालमा धार्मिक र पर्यटकीय सम्भावना भएको भन्दै उहाँले भकुण्डे–मेच्छे पौवा सडक, सुनकोशी खानेपानी लगायत स्थानीय आयोजनालाई सहयोग गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो । कांग्रेस जिल्ला सभापति तीर्थ लामाले तेमाल सम्भावनाको क्षेत्र भएको भन्दै स्थानीय विकास निर्माणमा सघाउन कांग्रेस सभापतिको प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो ।
तेमाल गाउँपालिका अध्यक्ष सलाम सिंह तामाङले गाउँपालिकाको समृद्धीका लागि धेरै काम गर्न बाँकी रहेको भन्दै भकुण्डे–मेच्छेपौवा सडक, बोहोरे दोभान सडक कालोपत्रे गर्न, सरकारी अस्पताल निर्माण गर्न, कृषि तथा बाली विज्ञान पढाई हुने व्यवस्था गर्न, बौद्ध विश्वविद्यालय, भ्युटावर र तामाङ संग्रहालय निर्माण गर्न प्रधानमन्त्रीसँग माग गर्नुभयो ।
माओवादी केन्द्रका जिल्ला इञ्चार्ज सूर्यमान दोङले स्थानीय निर्वाचनसँगै संघ र प्रदेशको निर्वाचन गर्न सम्भव भन्दै प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । गाउँपालिका प्रवक्ता समेत रहेका वडा नं ७ का अध्यक्ष ज्ञानबहादुर तामाङले गाउँपालिकाको विकासको लागि सहयोग गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । ४ करोड ६४ लाख ८ हजार ८ सय ६३ लाखको लागतमा निर्माण सम्पन्न भएको भवनको लागि जिल्ला समन्वय समितिले २ करोड बिनियोजन गरेको थियो ।
बाँकी आन्तरिक श्रोतबाट खर्च गरिएको उपाध्यक्ष दुर्गामाया तामाङले जानकारी दिनुभयो । २०७६ सालमा साङदोर्जे निर्माण सेवासंग २ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । प्रधानमन्त्री देउवाले वडा नं ५ मा एकैस्थानमा निर्माण गरिएको स्वयम्भु, बौद्ध र नमोबुद्ध स्तूपाको समेत उद्घाटन गर्नुभएको थियो ।