सैनामैना नगरपालिकाले बनाइदियो विपन्नलाई नमूना घर

चैत्र १७, २०७८ | बुटवल

विपन्न घरवार विहीनहरुलाई आवास सुविधाका लागि रुपन्देहीको सैनामैना नगरपालिकाले नमूना घर निर्माण गरी हस्तान्तरण गरेको छ । वर्षौदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरविहीन रहेका विपन्न र चक्रपथ निर्माण गर्दा विस्थापित भएका परिवारको लागि सैनामैना नगरपालिका–११ कञ्चन खोलाको किनारमा नमूना बस्ती निर्माण गरिएको हो । 

नगरपालिकाले निर्माण गरेका १० वटा घरमध्ये बिहीबार ९ वटा घर हस्तान्तरण गरिएको छ । नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाका सबै वडाबाट एक एक जना सबैभन्दा विपन्न परिवार छनोट गरी घर हस्तान्तरण गरिएको बताउनुभयो । हस्तान्तरण गरिएका घरपरिवारबाट नगरपालिकाले मासिक १ सय रुपैयाँ शुल्क लिने गरी कार्यविधि बनाएको छ ।

नमूना घरमा तराई मधेश समृद्धि कार्यक्रमको ७० प्रतिशत र सैनामैना नगरपालिकाको ३० प्रतिशत लागत साझेदारी छ । एक घरमा १ शौचालय र ३ वटा कोठा रहेका छन् । आर्थिक वर्ष २०७५/७६ बाट सुरु गरिएको बस्ती निर्माणमा १ करोड ८६ लाख ५७ हजार बजेट लगानी भएको नगरपालिकाका इन्जिनियर अरुण खनालले बताउनुभयो । 

विपन्न परिवारलाई घर हस्तान्तरण गर्दै राष्ट्रिय सभामा नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले सरकार नागरिकका हरेक दुखसुखमा सँगै रहनुपर्ने बताउनुभयो । नगरपालिकाले सञ्चालन गरेका ठूला आयोजनाका कारण विस्थापित भएका परिवार, विपत्तिमा परेको र ठूलो रोग लागेर उपचारमा सम्पत्ति सकिएर सडकमा आउने परिस्थीति नहुने उहाँले जनाउनुभयो ।


प्रतिक्रिया