भक्तपुरका स्वबासीलाई लालपूर्जा वितरण

चैत्र २४, २०७८ | भक्तपुर

नापी कार्यालय भक्तपुरले मध्यपुर थिमि नगरपालिका अन्तर्गत साविक वडा नम्बर १० र ११ को स्वबासी/हाल साविक जग्गा दर्ता गराई सकेका जग्गाधनीहरुलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेको छ । 

२०२१ सालमा जग्गा नापी हुँदा ‘गाउँब्लक’का रुपमा राखिएको र २०५७/०५८ पछि विभिन्न समयमा जग्गा नापी भएर स्वबासी दर्ता अस्थायी प्रमाण प्राप्त गरेका जग्गाधनीलाई लालपुर्जा वितरण थालेको नापी कार्यालय भक्तपुर २ नम्बर नापी टोली प्रमुख नवल किशोर साहले बताउनुभयो । 

टोलीले मध्यपुर थिमि साविक ६ र ८ का ४ सय १० र साविक १० र १० नम्बर वडामा ६ सय ३० जग्गाधनीलाई जग्गाधनी प्रमाण पत्र वितरण गरेको साहले बतानुभयो । मध्यपुर थिमि नगरकै साविक १, २, ४ र ९ वडाका जग्गाधनीलाई पनि पुर्जा वितरण तयारी गरिरहेको नापी कार्यालय भक्तपुरले जनाएको छ । 

२०२१ सालमा नापी हुँदा बाक्लो बस्ती बसेको ठाउँ तथा बस्ती नबसेको ठाउँमा गाउँब्लक भनि एउटै कित्तामा जग्गा नापी गरिएको थियो । त्यसबेला नापी कार्यालयका कर्मचारीले जग्गाधनीलाई जग्गाको स्वामित्व बुझाउन नसक्नु र जग्गाधनीले पनि पुस्तौं अघिदेखि भोगचलन गर्दै आएको जग्गा प्रतिको आफ्नो अधिकार ग्रहण गर्द नसक्दा गाउँब्लकका नाममा सिङ्गो गाउँ एउटै कित्तामा नापी भएको थियो । 

गाउँब्लकका रुपमा जग्गा नापी हुँदा जग्गधनी लालपुर्जा बिहीन बन्न पुगेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ एक समारोहका बीच २०७८ चैत्र ४ गते मध्यपुर थिमि साविक ६ र ८ बाट जग्गाधनी प्रमाण पुर्जा वितरण गर्नु भएको थियो । पुर्जा वितरणपछि पनि बाँकी रहेका जग्गा दर्ता कार्य नियमित भईरहने र पुर्जा वितरणलाई निरन्तरता दिईने नापी कार्यालयले जनाएको छ । 


प्रतिक्रिया