काभ्रेमा गठबन्धनभित्र मिल्यो भागबण्डा

वैशाख ११, २०७९ | काभ्रे

सत्ता गठबन्धनका दलहरुले काभ्रेमा सिट भागबण्डा टुंग्याएका छन् । गठबन्धनको प्रदेशस्थित संयन्त्रले भागबण्डा टुंगो लगाएको हो । सहमति अनुसार, कांग्रेसले ४ नगरपालिका र ३ गाउँपालिकासहित ७ स्थानीय तह, माओवादी केन्द्रले ४ गाउँपालिका र एकिकृत समाजवादीले २ नगरपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउने सहमति भएको हो ।

 कांग्रेसले बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध, रोशी, बेथानचोक र तेमाल गाउँपालिका, माओवादी केन्द्रले माहाभारत, खानीखोला, भुम्लु र चौरीदेउराली र एकिकृत समाजवादीले धुलिखेल र मण्डनदेउपुर नगरपालिका पाउने गरी तय भएको गठबन्धनका एक नेताले बताए । कांग्रेसले ६ स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष, ५ स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष र एकिकृत समाजवादीले बनेपा र पनौती नगरपालिकामा उप्रमुख पाउने सहमतिमा उल्लेख छ । जिल्ला समन्वय समितिको प्रमुख पनि एकिकृत समाजवादीकै भागमा परेको छ ।

गठबन्धनका दलहरु कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी केन्द्र, जनता समाजवादी पार्टीले १३ वटै पालिकामा पार्टीका तर्फबाट प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका उम्मेदवार आफ्नो संयन्त्रमा सिफारिस भने गरिसकेका छन् । ती मध्येबाटै गठबन्धनले उम्मेदवार तय गर्ने बताइएको छ ।

जिल्लामा दलहरुले पाउने स्थानीय तहको संख्या टुंगो लगाउन नसकेपछि प्रदेशस्थित संयन्त्रलाई जिम्मा दिएका थिए । सत्ता गठबन्धनमा १३ स्थानीय पालिका मध्ये कांग्रेसले ९, माओवादी केन्द्रले ६, एकिकृत समाजवादीले ४ र जनता समाजवादी पार्टी १ स्थानीय तहमा आफ्नो दाबी प्रस्तुत गर्दै आएका थिए । 


प्रतिक्रिया