२ सय ७२ जनाले उम्मेदवारी फिर्ता लिए, कांग्रेस नगर सभापतिको उम्मेदवारी कायमै

वैशाख १६, २०७९ | काभ्रे

गठबन्धन गर्ने पार्टीका निर्णय विरुद्ध काभ्रेमा वागी र स्वतन्त्र उम्मेदवारी दिएका २ सय ७२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको टिकट वितरणमा समेत असन्तुष्टी जनाउदै स्वतन्त्र उम्मेदवारी दिएका उनीहरुले आयोगले निर्धारण गरेको समयमा मनोनयन फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्ष वा प्रमुख पदमा १३ जना, उपाध्यक्ष वा उपप्रमुखमा १० जना र वडाअध्यक्षमा ६२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । कार्यालयका अनुसार, खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्य समेत मण्डनदेउपुर नगरपालिकामा ५२ जना, बनेपामा ४० जना, पाँचखालमा ३४ जना, बेथानचोकमा ३३ जना, नमोबुद्धमा २७ जना,चौरीदेउरालीमा २६ जना, धुलिखेलमा १७ जना, खानीखोलामा १० जना, पनौतीमा ९ जना, तेमालमा ८ जना, रोशीमा ७ जना, भुम्लुमा ६ जना र महाभारतमा ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

धुलिखेलको नगरप्रमुखमा बागी उम्मेदवारी दिएका कांग्रेस नगर सभापति विदुरबहादुर बस्नेतको उम्मेदवारी कायम नै भएको छ । ‘ज्यादै न्यून भोट भएको पार्टी र जिताउन नसकिने उम्मेदवार’लाई गठबन्धनले प्रमुख पदमा उठाएको भन्दै ‘कांग्रेस जोगाउन’ उम्मेदवार बनेको बताएका उनलाई फिर्ता गराउने प्रयास गरेपनि असफल भएको थियो । दिउसभर कांग्रेस तथा गठबन्धनका नेताले खोजेपनि ‘मोबाइल अफ’ गरेर उनी सम्पर्कविहिन थिए । सत्ता गठबन्धनको प्रदेशस्थित संयन्त्रले धुलिखेल नगर प्रमुखमा एकिकृत समाजवादी र उपप्रमुखमा कांग्रेसले उम्मेदवारी दिने निर्णय गरेको थियो । प्रमुखमा दयासागर श्रेष्ठ र उपप्रमुखमा निराजन जंगमले उम्मेदवारी दिएका छन् ।

महाभारत गाउँपालिकामा उपाध्यक्षमा नेकपा (एकिकृत समाजवादी)का तर्फबाट वागी उम्मेदवार दिएका घनश्याम आलेलेको उम्मेदवारी पनि कायम भएको छ । गठबन्धनको प्रदेशस्थित संयन्त्रले अध्यक्षमा माओवादी केन्द्रका कान्छालाल जिम्वा र उपाध्यक्षमा कांग्रेसका सागर मोक्तान उठाउने निर्णय गरेको थियो । एमाले छदा गाउँपालिका कमिटी अध्यक्ष रहेका घनश्याम पार्टी फुटेपछि एकिकृत समाजवादीमा छन् । 


प्रतिक्रिया