लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री खत्रीबिरुद्ध अभद्र व्यवहारमा जाहेरी

जेष्ठ ३१, २०७९

लुम्विनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला कुमारी खत्रीबिरुद्ध अभद्र व्यवहारमा जाहेरी परेको छ । पीडित तुलसीपुर उपमहानगरपालिका ५ बसपार्ककी २७ बर्षीया मिना भण्डारी बस्नेतले आज अभद्र व्यवहारमा जाहेरी दिएकी हुन् । 

जाहेरी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा पेश भएपनि दर्ता भएको छैन । खत्रीले आज विहान बस्नेतको घरमा प्रवेश गरी नाबालिका छोरी एञ्जिलासहित आफूलाई गालीगलौज, कुटपिट, हातपात र अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी हुन् । राज्यमन्त्री खत्रीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको र जाहेरी पनि जिल्लामा नै पठाइने ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरिक्षक रञ्जित स्वाारले बताउनुभयो ।

 अर्काको घरमा पसेर खत्रीले हातपात गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले खत्रीलाई नियन्त्रणमा लिएको थियो । खत्रीलाई जिल्ला प्रहरीमा राखेर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख एस्पी सुरेश काफ्लेले बताउनुभयो । 


प्रतिक्रिया