रामायण सर्किटको रेल जनकपुरमा

असार ९, २०७९

करिव ५ सय धार्मिक पर्यटक बोकेर भारतको रामायण सर्किट रेल जनकपुर आइपुगेको छ । धार्मिक पर्यटक बोकेर भारतबाट सिधैं जनकपुर आइपुगेको यो पहिलो रेल हो । जनकपुरस्थित रेल्वे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटकलाई स्वागत गर्नुभयो । रामायण सर्किटमा सञ्चालन हुने ‘भारत गौरव टुरिष्ट रेल’ नेपाल–भारत सिमाना जयनगरबाट जनकपुर आइपुगेको हो । जयनगरबाट रेल नेपाल प्रवेश गरेलगत्तै ठाउँ–ठाउँमा फुलमालाले स्वागत गरिएको छ । 

त्रेतायुगमा भारत अयोध्याका राजा दशरथका छोरा राम र जनकपुरका राजा जनककी छोरी सीतासित विवाह भएको थियो । रामायण अध्यायमा उल्लेख गरिएका सबै ठाउँलाई धार्मिक पर्यटनलाई जोड्न भारत सरकारले रामायण सर्किट तयार पारेको छ । रामायण सर्किटमा नेपालको जनकपुरलाई पनि समेटिएको छ । ४ वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा दुबै देशबीच रामायण सर्किट सम्झौता भएको थियो । रामायण सर्किट जोड्न विशेष रेल यात्रा दिल्लीबाट सुरु भएको हो । जनकपुरमा पनि ब्रोडगेज रेल लिंक रहेकाले रामायण सर्किटको रेल सिधैं जनकपुर आइपुगेको हो । 


प्रतिक्रिया