निहारिकाको बच्चा र श्रेष्ठको डिएनए मिल्यो

कार्तिक १८, २०७९

प्रेम सम्बन्धमा रहेकै बेला गर्भवती बनेकी जनकपुरकी निहारिका राजपुतको कोखबाट जन्मेको शिशु र प्रेमि शिव श्रेष्ठको डिएनए परीक्षण मिलेको छ । राजपुत श्रेष्ठको डिएनए परिक्षणको माग गर्दै लामो समय काखमा बच्चा च्यापेर संघर्षरत्त थिइन् । उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीका अनुसार आरोपित श्रेष्ठ र राजपुतको कोखबाट जन्मेको बच्चाको डिएनए रिपोर्ट म्याच भएको नतिजा अदालतसम्म आइपुगेको हो । 

बच्चा र श्रेष्ठको डिएनए मिलेको रिपोर्ट आज नै प्राप्त भएको उहाँले बताउनुभयो । रजिष्ट्रार अधिकारीले म्याच गरेको रिपोर्टसहित मुद्दा फेरि इजलासमा पठाइने जानकारी दिनुभयो । उहाँका अनुसार पेशी तोकिएको कात्तिक २५ गते नै सो मामिला इजलासमा जानेछ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले आरोपित श्रेष्ठ र निहारिकाको कोखबाट जन्मेको बच्चाको डिएनए परीक्षण गर्दा ९९.९९९ प्रतिशत डिएनएन मिलेको जनाएको छ । 

उच्च अदालत जनकपुरले निहारिकाकै मागअनुसार उनको कोखबाट जन्मेको शिशु र आरोपित श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएपछि गत भदौं २४ गते दुबैको डिएनए परीक्षण भएको थियो । निहारिकाले जबर्जस्ती करणीमार्फत बच्चाको जन्म भएको भन्दै जाहेरी दिएकी थिइन् । श्रेष्ठले भने निहारिकाको आरोप निराधार रहेको भन्दै अदालतमा बयान दिएका थिए । 


प्रतिक्रिया