गण्डकीका ३१६ मतदानस्थल अति संवेदनशील

मंसिर १, २०७९ | पोखरा

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेशका ३ सय १६ मतदानस्थल अति संवेदनशीलमा राखिएको छ । प्रदेशका ११ जिल्लामा १ हजार २ सय ८३ मतदानस्थल तोकिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार ५ सय ६३ संवेदनशील र ४ सय ४ मतदानस्थललाई सामान्य रुपमा राखिएको छ । प्रदेशभर २ हजार ३ सय ३८ मतदान केन्द्र छन ।

प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक (डिआइजी) रामदत्त जोशीका अनुसार बिकट भूगोल, दलहरुबीचको संभावित आपसी द्वन्द्व, संभावित निर्वाचन विरोधी गतिविधि, विगतका निर्वाचनमा भएका गतिविधिलगायत कारणले सुरक्षा संवेदनशिलतालाई हेरिएको छ । ‘जिल्ला अनुसार संवेदनशिलता फरक छन । सोही अनुसार सुरक्षा योजना बनाएका छौ,’ उहाँले भन्नुभयो, ‘सबै पालिकाहरुमा मोबाइल टोली खटाइएको छ । रात्रि गस्ती सुरु गरिएको छ । अन्य सुरक्षा निकायसंग पनि समन्वय गरिएको छ । सुरक्षा अवस्था मजबुत छ ।’

राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन आचारसंहिता खासै उलघंन नगरेको, दलहरुबीच आपसी द्वन्द्वको अवस्था पनि नरहेकाले सुरक्षा चुनौति नथपिएको उहाँको भनाई छ ।

गण्डकीमा १८ प्रतिनिधिसभा र ३६ प्रदेशसभा निर्वाचन क्षेत्र छन । प्रतिनिधिसभातर्फ स्वतन्त्रसमेत गरी १ सय ९६ उम्मेदवार चुनावी मैदानमा छन भने प्रदेशसभातर्फ २ सय ३५ उम्मेदवार छन । प्रदेशभरी १८ लाख १७ हजार ५ सय ४१ मतदाता रहेका छन । प्रदेशमा ११ जना तेस्रोलिंगीलगायत अन्य मतदाता छन् । १२ हजार ३ सय ४० म्यादी र ६ हजार ६ सय ८६ प्रहरी निर्वाचनमा खटिएका छन । 


प्रतिक्रिया