मुस्ताङमा ६६ प्रतिशत मतदान

मंसिर ४, २०७९ | म्याग्दी

मुस्ताङमा ६६ दशमलव २३ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मदन अर्यालकाका अनुसार अस्थायी मतदाता बाहेक मुस्ताङका कुल १० हजार ९ सय ७५ मतदाता मध्ये ७ हजार २ सय ५७ जनाले मताधिकार प्रयोग गरेका छन् । त्यस्तै, मुख्य निर्वाचन अधिकृत इश्वरी पराजुलीका अनुसार राति १–२ बजेसम्ममा सबै स्थानबाट मतपेटिका आईपुग्ने र भोलि सोमबार बिहान सर्वदलीय बैठकपछि मतगणना सुरु गर्ने योजना छ ।

 मुस्ताङको दुर्गम साङ्तावस्तीबाट मतपेटिका ल्याउन गतराति पहिरोले अवरुद्ध सडक सफा गरिएकोले राखीसम्म मतपेटिका आउने अनुमान छ । चिसो छल्न बेंशी झरेका र घुम्ती ब्यापारका लागि देश तथा भारतका विभिन्न सहर पुगेका मतदाताहरु मतदानमा सहभागी हुन गाउँ फर्केपछि अपेक्षाकृत बढी मतदान भएको हो ।

 उपल्लो मुस्ताङका ६० प्रतिशत मतदाता जाडो छल्न बेंशी झरेका भएपनि मतदानको दिनदेखि एक हप्ता अगाडिदेखि जिल्ला फर्कन थालेका थिए । मुस्ताङका उम्मेदवारहरुले मतदानमा सहभागिता बढाउन आ–आफ्ना खर्चमा सहरका मतदातालाई बस, जिप र जहाजमा टिकट मिलाएरै मतदानस्थलसम्म पुर्‍याएका थिए । 


प्रतिक्रिया