रुकुम पश्चिमा सबै मतपेटिका संकलन सम्पन्न, गणनाको तयारी

मंसिर ५, २०७९ | रुकुम पश्चिम

प्रतिनिधि सभा र प्रदेश सभाको मतदान सम्पन्न भएको एक दिनपछि रुकुम पश्चिमका सबै मतदान केन्द्रबाट मतपेटिका संकलनको कार्य सम्पन्न भएको छ । जिल्लाका ७६ वटै मतदानस्थलका १ सय ३९ मतदान केन्द्र मध्ये १ सय २९ मतदान केन्द्रका मतपेटिका हिजो राति नै गणनास्थल मुसीकोटस्थित जिल्ला समन्वय समितिको कार्यालयमा ल्याईएको थियो । 

बाँकी १० वटा मतदान केन्द्रका मतपेटिका भने सोमबार मात्र ल्याइएको हो । भौगोलिक विकटता, यातायातको असुविधा र सुरक्षाका कारण आज दिनभरी लगाएर १० स्थानको मतपेटिका गणनास्थलमा ल्याइएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो ।

 सबै क्षेत्रका मतपेटिका आएसँगै अब सर्वदलीय बैठक बसेर आजै गणनाको सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमाले रुकुम पश्चिमले जिल्लाका ७ स्थानमा मतदानमा धाँधली भएको भन्दै सोमबार एक विज्ञप्ति जारी गरेर मतगणनामा सहभागी नहुने र सात स्थानमा पुन: मतदान हुनुपर्ने माग गरेपछि स्थिति केही जटिल बनेको छ । 

समस्या समाधानको सहमतिपछि विवाद टुंगिएको मुख्य निर्वाचन अधिकृत खड्क बहादुर केसीले बताउनुभयो । अब केही बेरमा सर्वदलीय बैठक बस्ने तयारी भईरहेको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया