कैलाली ५ मा मतगणना सुरु
मंसिर ६, २०७९ | धनगढी
कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना मंगलबार १० बजेबाट सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत ओम प्रसाद अर्यालको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार हुने भनिएको मतगण रोकिएको थियो ।
अर्यालको स्वास्थ्यमा सुधार आएपछि मंगलबारको सर्वदलीय बैठकको निर्णय अनुसार बिहान १० बजेबाट गणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयका प्रमुख प्रेम दत्त भट्टले बताउनुभयो । उहाँका अनुसार क्षेत्र नम्बर ५ को प्रतिनिधि सभा र प्रदेश सभा र समानुपातिक तर्फको मतगणना सुरु भएको छ ।
सो क्षेत्रमा कुल १ लाख ५ हजार ६ सय ९३ मतदाना रहेकोमा ६५ हजार ९ सय ८५ मत खसेको थियो । जिल्लाका अन्य ४ निर्वाचान क्षेत्रको गतणना सोमबारदेखि सुरु भएको थियो ।
कैलालीको निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । क्षेत्र नम्बर ४ मा एमालेका लेखराज भट्ट र कांग्रेसका वीर बहादुर बलायरको कडा प्रतिस्पर्धा भईरहेको छ ।







