सिरहाको गोलबजारमा माओवादी केन्द्रको प्रदर्शन, सडक अवरुद्ध

मंसिर १०, २०७९ | सिरहा

गोलबजार नगरपालिकाका पूर्व प्रमुख देवनाथ साहको घरमा ढुंगा प्रहार गरेको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेको छ । सिरहा क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपा एमालेका लिलानाथ श्रेष्ठ सहितको विजय र्‍यालीमा सहभागी कार्यकर्ताले गोलबजार–४ स्थित साहको घरमा ढुंगा प्रहार गरेको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताले प्रदर्शन गर्दै पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजार सडकखण्ड अवरुद्ध पारेका हुन् ।

राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन पूर्वतर्फ कसहा र पश्चिमतर्फ चोहर्वामा रोकिएका छन् । विरोधकर्ता बजार, पसल बन्द गराएका छन् । सिरहा ३ बाट निर्वाचित श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी माओवादीका विश्वनाथ साहका दाजुको घरमा ढुंगा प्रहार गरेको र स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरेको विरोधमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजार खण्ड सडक अवरुद्ध गरेको हो । 

कुटपिटबाट घाइते भएका साहको गोलबजारस्थित लाइफ लंग अस्पतालमा उपचार भइरहेको छ । घाइते साहको टाउकोमा चार वटा टाका लगाइएको र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । एमालेका श्रेष्ठले सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार साहलाई एक हजार एक सय ८२ मतान्तरले हराउनु भएको हो । 

जितछिको उन्मादमा एमाले कार्यकर्ताहरुले ढुंगा गरेको माओवादी केन्द्र गोलबजारले आरोप लगाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सडक खुलाउने विषयमा वार्ता भइरहेको बताउनुभयो । माओवादी केन्द्र सिरहाका जिल्ला इञ्चार्ज अजयशंकर नायकले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै जितको उन्मादमा गरिएको गुण्डागर्दीको निन्दा र भत्सर्ना गर्दै घटनामा संलग्नलाई तत्काल कारबाहीको माग गर्नुभयो । 

निर्वाचित उम्मेदवारको उपस्थितिमै उनका कार्यकार्ताले निजी घरमा ढुंगा प्रहार गर्दै रोक्न खोज्नेलाई कुटपिट गरिनु गुण्डागर्दी भएको नायकले बताउनुभयो । अलोकतान्त्रिक र गुण्डागर्दी हर्कत बन्द गर्न आग्रहसहित लोकतान्त्रिक मूल्य मान्यता अनुसार चल्न सचेत गराइएको छ । 


प्रतिक्रिया