विजय उत्सव मनाइसकेपछि पेटिकामा नगनेका मत भेटिन थालेपछि

मंसिर ११, २०७९

पाँचथरमा प्रत्यक्ष तर्फको मत गणना सकिएपछि विजयी भएका उम्मेद्वार र तिनका समर्थकले विजय उत्सव मनाइसकेपछि नगनेका मत पत्र भेटिन थालेपछि परिणाम नै उल्टिने त होइन ? भन्ने चासो बढेको छ । प्रत्यक्ष तर्फको गणना सकिँदा नेकपा एमालेका वसन्तकुमार नेम्वाङले प्रतिष्पर्धी कांग्रेसका भिष्मराज आङदेम्वेलाई ४७ मत अन्तरले हराएपछि सो दल र उम्मेद्वारका समर्थकले र्‍याली सहित उत्सव मनाएका थिए । लगत्तै समानुपातिक तर्फको गणना शुरु गर्दा प्रत्येक मत पेटिकामा प्रत्यक्षतर्फका मतपत्र भेटिन थालेपछि दुबै उम्मेद्वारका प्रतिनिधिहरु बीचको विवादले समानुपातिक तर्फको मत गणना झण्डै २ घण्टासम्म प्रभावित भएको थियो ।

 कम मत अन्तरले जीत हार भएको पाँचथरमा समानुपातिकका मत गन्न थाल्दा पहिलो पटक खोलिएका समानुपातिक तर्फका १५ वटा पेटिकामा ७ वटा प्रत्यक्षका मतपत्र भेटिएपछि ती मत गनेर प्रत्यक्षतर्फ थप्ने कि नथप्ने विषयमा एमाले र कांग्रेस कार्यकर्ताबीच भनाभन भएको थियो । विवाद सुल्झाउन मुख्य निर्वाचन अधिकृतले दुबै दलका उम्मेद्वारको उपस्थितिमा सर्वदलीय बैठक बोलाएर भेटिएका मतपत्र गणना गरेर प्रत्यक्षमा उम्मेद्वारले प्राप्त गरेको मतमा थप्दै लैजाने सहमति गराएपछि गणना पुन: सुचारु भएको थियो । 

मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले पछिल्लो पटक खोलिएका पेटिकामा पनि प्रत्यक्ष तर्फका मतपत्र भेटिने क्रम जारी रहेकाले अन्तिम नतिजामा प्रत्यक्ष तर्फका उम्मेद्वारले पाएको मत संख्या बढ्ने निश्चित रहेको बताउनुभयो । गणनामा रहेका दलका प्रतिनिधिहरुका अनुसार आज बेलुका साढे पाँच बजेसम्मको मतपरिणाममा नेपाली कांग्रेसलाई दिइएको १० वटा मतपत्र भेटिएका छन् । यस्तै एमाले र माओवादी केन्द्रका चुनाव चिन्हमा मत संकेत भएका मतपत्रको संख्या २–२ छ । पछिल्लो मतपत्र थपिदा अब आङदेम्वे र नेम्वाङ विचको मत अन्तर खुम्चिएर ३९ मा झरेको छ ।

मुख्य निर्वाचन अधिकृत दाहालले निर्वाचन आयोगले तयार गरेको मत गणना सम्वन्धि निर्देशिकामा एक निर्वाचन प्रणालीका मत अर्को निर्वाचन प्रणालीको पेटिकामा परेको पाइए गणना गर्न मिल्ने व्यवस्था भएकाले प्रत्यक्ष तर्फको गणना सकिएपनि विजेता घोषणा गर्न र प्रमाण पत्र वितरण गर्ने काम बाँकी नै राखिएको बताउनुभयो । उहाँका अनुसार समानुपातिक तर्फका पेटिकामा भेटिएका मत गनिसकेपछि अन्तिम नतिजा सार्वजनिक गरेर मात्रै प्रमाण पत्र वितरण गरिनेछ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा पाँचथरमा ७५ हजार ३ सय १६ मत खसेकोमा आज बेलुका साढे ५ बजेसम्म २० हजार मात्रै मत गनिएको छ । पछिल्लो पटक खोलिएका समानुपातिक तर्फका पेटिकामा पनि प्रत्यक्षका मतपत्र भेटिने क्रम जारी रहेको गणकहरु बताउँछन् । प्रतिनिधि सभासंगै प्रदेश सभा तर्फ पनि समानुपातिक तर्फका मत पेटिकामा प्रत्यक्षका मतपत्र भेटिएको उनीहरुको भनाई छ । 


प्रतिक्रिया