प्रदेश १ मा १२ महिला उम्मेदवार मध्ये ३ निर्वाचित

मंसिर १३, २०७९ | मोरङ

प्रदेश १ को १४ जिल्लाका २८ प्रतिनिधि सभा र ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका १२ महिला मध्ये तीन जना मात्रै निर्वाचित भएका छन् । सुनसरी ३ मा एमालेकी भगवती चौधरीले अग्रता बनाउनु भएको छ भने उदयपुर १ मा एमालेकी मञ्जुकुमारी चौधरी र कांग्रेसका नारायण खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ । 

कुल महिला उम्मेदवार मध्ये ७ जना पराजित भएका हुन् । प्रतिनिधि सभा सदस्यमा तेह्रथुम १ बाट संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री सीता गुरुङ, प्रदेशस भा सदस्यमा इलाम १ (१) बाट संस्कृति तथा पर्यटनमन्त्री नेकपा एकीकृत समाजवादीकी खिनु लङवा लिम्बु र झापा १(२) बाट राप्रपाकी सबिना बजगाई निर्वाचित हुनु भएको छ । 

सुनसरी ३ मा चौधरीले ३६ हजार ९३६ मत ल्याएर ५ हजार ५३५ मतको अग्रता कायम गर्नु भएको छ । सो क्षेत्रबाट ७ पटक निर्वाचित भइसकेका कांग्रेसका विजयकुमार गच्छदारले ३० हजार ६०१ मत ल्याएर चौधरीलाई पछ्याई रहनु भएको छ । सो क्षेत्रमा अब बर्जु गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ को १० हजार ६३४ मत गणना गर्न बाँकी छ । 

यस्तै, प्रतिनिधि सभा सदस्यमा अर्की एमालेकी महिला उम्मेदवार मञ्जुकुमारी चौधरीले उदयपुर १ मा परराष्ट्रमन्त्री एवं कांग्रेसका नारायण खडकासँग जितका लागि संघर्षरत हुनुहुन्छ । खडकाले २७ हजार ४८४ मत ल्याएर १ हजार ८२५ मतको अग्रता बनाउनु भएको छ भने मञ्जुकुमारीले २५ हजार ६९५ मत ल्याएर पछयाई रहनु भएको छ । सो क्षेत्रमा १३ हजार ६ सय ४६ मत गणना गर्न बाँकी छ ।

 मत पेटिकामा प्रदेशतर्फको एक सय मत पत्र भेटिएपछि विवाद भएको थियो । विवादका कारण रोकिएको मत गणना निर्वाचन अधिकृतको कार्यलयले पुन: सुरु गर्ने तयारी गरेको छ । प्रतिनिधि सभातर्फ गठबन्धबाट कांग्रेसकी सुजाता कोइराला मोरङ २ र राप्रपाकी रोखा थापा मोरङ क्षेत्र ३ मा पराजित हुनु भएको छ । कोइराला एमालेका ऋषिकेश पोखरेल र थापा कांग्रेसका सुनिल शर्मासँग पराजित हुनु भएको हो ।

यस्तै, प्रदेश सभातर्फ निवर्तमान उपसभामुख माओवादी केन्द्रकी सरस्वती पोखरेल सुनसरी ३ (१) तथा धनकुटा १ (२) मा माओवादी केन्द्रकी निवर्तमान प्रदेश सांसद कुसुम कुमारी श्रेष्ठ, संखुवासभा १(२) मा निवर्तमान प्रदेश सांसद नेकपा (एकीकृत समाजवादी)की सरिता थापा पराजित हुनु भएको छ । 

यस्तै, इलाम १(१) मा एमालेकी शोभा पराजुली र मोरङमा ६(१) मा एमालेकी रीता न्यौपाने पराजित हुनु भएको छ । पहिलो प्रदेश सभामा चार जना महिला उम्मेदवारमध्ये दुई जना मात्रै निर्वाचित हुनु भएको थियो । इलामबाट खिनु लङबाट र उदयपुरबाट कला घले विजयी हुनु भएको थियो । 

यसपटक पनि खिनु लङबा दोस्रो पटक र बजगाई पहिलो पटक प्रदेशसभामा निर्वाचित हुनु भएको हो । ९३ सदस्यी प्रदेश सभामा न्यूनतम ३१ जन महिला प्रदेश सांसदको प्रतिनिधित्व गराउनै पर्ने संवैधानिक व्यवस्था अनुसार समानुपातिकबाट ३७ मध्ये न्यूनतम २९ जना महिला छानिएर आउने भएको छ । अघिल्लो पटक समानुपातिबाट ३० जना महिला प्रदेश सांसद भएका थिए ।

 एमालेबाट दुई निर्वाचित र समानुपातिकबाट १७ गरी १९, कांग्रेसबाट ६, माओवादी केन्द्रबाट ४, तत्कालिन संघीय समाजवादी फोरम, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १/१ जना समानुपातिकबाट प्रदेश सांसद भएका थिए । 


प्रतिक्रिया