समाज परिवर्तनको लागि राजनीतिमा आएको छु : सिके राउत

पुस ५, २०७९ | जनकपुर

जनमत पार्टीका अध्यक्ष सिके राउतले समाज परिवर्तनको लक्ष्य लिएर आफूहरु सक्रिया राजनीतिमा आएको बताउनु भएको छ । रामानन्द युवा क्लबको मंगलबार सम्पन्न ३७ औं साधारण सभालाई सम्बोधन गर्दै राउतले विकास निर्माणदेखि समाज निर्माणसम्मका सम्पूर्ण संयन्त्र राजनीतिबाटै चल्ने भएकाले सक्रिय राजनीतिमा आएको बताउनुभयो ।

 ‘यहाँ विकास निर्माणदेखि समाज निर्माणसम्मका सम्पूर्ण संयन्त्र राजनीतिबाटै चल्छ’, राउतले भन्नुभयो, ‘त्यसैले समाज परिवर्तनको लक्ष्य लिएर रोजी रोटी छाडेर सकृय राजनीतिमा आएका हौँ ।’ 

स्वतन्त्र रुपमा समाज परिवर्तनको प्रयास गर्दा पटक पटक सास्ती भोगेको स्मरण गर्दै राउतले भन्नुभयो, ‘जनकपुरमा आयोजित राम जानकी विवाह महोत्सवका श्रद्धालुहरुलाई पानी खुवाउँन स्टल सञ्चालन गर्दा नेपाल सरकारले हाम्रा १७ जना कार्यकर्तामाथि मुद्दा चलाएको थियो ।’ 

जनमत पार्टी सत्तासुख भन्दा पनि समाज परिवर्तनको लक्ष्य लिएर जनता माझ गएको उल्लेख गर्दै उहाँले आफ्नो पार्टी संघीय र प्रदेश सरकारमा जाँदा शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि प्रमुख प्राथमिकता रहने बताउनुभयो । विगतमा शिक्षाको क्षेत्रमा सम्मुन्नत रहेको मधेस प्रदेशको साक्षरता सूचकांक निरन्तर पुछारतिर खस्केको उहाँको भनाई छ । 

समाजिक संघ संस्थालाई अतीतको मिठो गीत गाउँनु भन्दा पनि शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रको वर्तमान अवस्थाप्रति जानकार रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘मेरो बाजेको हात्ती थियो भन्दै फुर्किनु भन्दा पनि वर्तमानमा हामीसँग के छ ? यस विषयमा सोच्ने बेला हो ।’ 

जनमत पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित सतिश कुमार सिंहले लागू पदार्थ दुर्वव्यसन प्रमुख सामाजिक समस्याको रुपमा देखिएको भन्दै यसलाई न्युनिकरण गर्न युवा क्लबहरुको भूमिमा अहम हुने बताउनुभयो । निवर्तमान प्रदेश सभा सदस्य प्रमेश्वर साहले मधेसको हक अधिकारका लागि सधै कृयाशिल रहने प्रतिवद्धता जनाउनुभयो ।

तीन विधामा तीन स्रष्टा पुरष्कृत

३७ औं वार्षिकोत्सवको अवसरमा रामानन्द युवा क्लबले खेलकुद, साहित्य तथा संगीत क्षेत्रमा उल्लेखनीय योगदान दिने तीन स्रष्टालार्ई पुरष्कृत गरेको थियो । क्रिकेटका राष्ट्रिय खेलाडी अनिल मण्डललाई २१ हजार रुपैयाँको विशिष्ट चन्द्रकला खेल पुरष्कार प्रदान गरिएको थियो । 

मैथिलीका गायक नवीन कुमार मिश्रलाई १५ हजार राशिको सरस्वती राजनारायण पुरष्का–२०७९ तथा कवि काशीकान्त झालाई २५ हजार राशिको विद्यापति स्मृति पदक–२०७९ प्रदान गरिएको थियो । पुरष्कृत स्रष्टाहरुलाई प्रमुख अतिथि सिके राउत, विशिष्ट अतिथिहरु सतिश कुमार सिंह, क्लबका अध्यक्ष मनमोहन साह लगायतले सम्मान गर्नु भएको थियो ।


प्रतिक्रिया