रानी नाकाबाट एक वर्षमा १३१ महिला तथा बालिकाको उद्धार

पुस ८, २०७९ | मोरङ

माइती नेपाल मोरङले एक वर्षको अवधीमा रानी नाकाबाट १३१ जना महिला तथा बालिकालाई उद्धार गरेको छ । सो नाकाबाट भारततर्फ बेचबिखनका लागि लैजाँदै गरेका महिला तथा बालिकालाई उद्धार गरी माइती नेपालले अभिभावकको जिम्मा लगाएको हो । 

माइती नेपाल मोरङका कार्यक्रम संयोजक विनोद पोखरेलका अनुसार सन् २०२२ को हालसम्ममा रानी नाकाबाट भारततर्फ बेचबिखनका लागि लग्दै गरेकामध्ये १८ वर्षमाथि ६० वर्ष उमेरसम्मका ८९ र १२ वर्षदेखि १८ वर्षमुनि उमेरका ४२ छन् । 

उद्धार गरिएका मध्ये सबैभन्दा बढी मोरङका ३६, सुनसरीका २१, झापाका १५, काठमाडौंका ९, उदयपुरका ७, धनकुटा, इलाम, भोजपुरका ५/५, संखुवासभाका ४, सप्तरी, तेह्रथुम, ताप्लेजुङ, खोटाङ, लम्जुङ, सिन्धुलीका २/२ जना छन् ।

यस्तै, कैलाली, धनुषा, कपिलवस्तु, काभ्रेप्लाञ्चोक, सर्लाही, सिरहा, गोर्खाका १/१ र सीमावर्ती भारतीय गाउँका ३ जनाको उद्धार गरेर अभिभावकको जिम्मा लगाइएको पोखरेलले बताउनुभयो । मोरङका ३४ जनामध्ये विराटनगर महानगरपालिकाका १४, रंगेली र सुन्दरहरैंचा नगरपालिकाका ४/४, कटहरी गाउँपालिकाका ४, बेलबारी र कानेपोखरीका २/२, उर्लाबारी, धनपालथान र सुनबर्षीका १/१ जना छन् । 

उद्धार गरिएकामध्ये जातीय आधारमा चौधरी र राजबंशी समुदायका ३४, राई, लिम्बु, मगर, तामाङ, लामा ३४, ब्राहम्ण/क्षेत्री २५, विक/परियार १८, तराईबासी ८, मुस्लिम ५, नेवार ३, धिमाल, भुजेल, अग्रवाल, माझी समुदायका १/१ जना रहेका छन् । यो वर्ष महिला तथा बालिका हराएको ४७ वटा उजुरी परेकामध्ये ११ जनाको खोजी गरी उद्धार गरिएको र अन्यको खोजी कार्य भइरहेको पोखरेलले जानकारी दिनुभयो । 

बेचबिखनमा परेका एक जना महिलालाई भारतको दिल्लीबाट उद्धार गरिएको छ । बेचबिखनमा परेका एक जना बालिकालाई यो वर्ष रानी नाकाबाट उद्धार गरिएको र मुद्दा समेत दायर गरिएको उहाँले बताउनुभयो । 

सन् २०१० देखि हालसम्ममा रानी नाकाबाट १ हजार १६९ जना महिला तथा बालिकाको माइती नेपालले उद्धार गरेको तथ्यांक सार्वजनिक गरेको छ । सो अवधीमा माइती नेपालमा ५५१ महिला तथा बालिका हराएको उजुरी दर्ता भएका मध्ये ८३ जनालाई खोजी गरी अभिभावकको जिम्मा लगाइएको तथ्यांकमा उल्लेख छ । 

माइती नेपाल मोरङले इलाका प्रशासन कार्यालय उर्लाबारीमा राहदानी बनाउन आएका २ हजार ४७४ जनालाई वैदेशिक रोजगारीको बारे सचेतनामुलक शिक्षा दिएको माइती नेपाल मोरङका कार्यक्रम संयोजक पोखरेलले बताउनुभयो । जसमा पुरुष १ हजार ४३९ र महिला १ हजार ३५ छन् । 


प्रतिक्रिया