मधेसमा सरकार बनाउन पुस २८ को समय

पुस २२, २०७९

मधेस प्रदेशमा सरकार बनाउन पुस २८ गतेभित्र दाबी प्रस्तुत गर्न राजनीति दललाई आव्हान गरिएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि आव्हान गर्नु भएको हो । प्रदेश प्रमुख मिश्रले दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गर्नु भएको छ । 

नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई दाबी पेश गर्न भनिएको छ । मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पुस २८ गते अपराह्न ४ बजे सम्मको समय दिइएको छ ।

मधेस प्रदेश सभामा एकसय ७ सदस्य छन् । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका ९–९, नेकपा एकीकृत (समाजवादी) ७, नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका एक–एकजना सांसद छन् ।


प्रतिक्रिया