छात्राको मृत्यु प्रकरण : अवरुद्ध राजमार्ग खुलाउन १२ राउण्ड हवाइफायर

पुस २४, २०७९

सिरहामा विद्यालयको लापरबाहीका कारण एक छात्राको मृत्यु भएको भन्दै विद्यार्थी र स्थानीय अभिभावकहरुले प्रदर्शन गरेका छन् । आक्रोशित विद्यार्थीहरुले बिहान १० बजेबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया खण्डमा टायर बालेर प्रदर्शन गरे । उनीहरुले प्रदर्शन गर्दै मिर्चैयास्थित इलाका प्रहरी कार्यालय समेत घेराउ गरेका थिए । अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा डिएसपी हरिबहादुर वली सहित ८ प्रहरी घाइते भएको हाम्रा सहकर्मीले जनाएका छन् । प्रहरीले अवरोध हटाएपछि अपरान्हबाट राजमार्ग खुलेको छ ।

सिरहाको मिर्चैयास्थित सगरमाथा उच्च माविमा अध्ययनरत १६ वर्षीया सिर्जनाकुमारी महराले औषधी खाने क्रममा पानीको बोतलमा रहेको स्प्रिट पिउँदा मृत्यु भएको थियो । विद्यालयको चरम लापरबाहीले सिर्जनाको मृत्यु भएको परिवारले आरोप लगाएको छ ।


प्रतिक्रिया