थारु समुदायले टुँडिखेलमा माघी महोत्सव गर्ने

पुस २७, २०७९ | काठमाडौं

थारू समुदायले काठमाण्डौंको टुँडीखेलमा मौलिक पर्व माघीको अवसरमा दुई दिने महोत्सव आयोजना गर्ने भएको छ ।

काठमाण्डौं स्थित पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा सो समुदायसंग आवद्ध विभिन्न संघ संस्थाले संयुक्त रुपमा पौष २९ र माघ १ गते काठमाडौं टुडिखेलमा माघी महोत्सव आयोजना गर्ने जनाएका हुन् ।

महोत्सवमा थारु सांस्कृतिक प्रदर्शनसँगै, भेषभुषा, अधिकारका सवालबारे बहस हुने मूल आयोजक समितिका संयोजक तथा थारु कल्याण कारिणाीसभाका महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो ।

यसका साथै, महोत्सवमा थारु समुदायको विभिन्न परिकार, हस्तकला, पुस्तकहरु प्रदर्शन गरिने जनाइएको छ । मेलामा १ लाख दर्शकले अवलोकन गर्ने आयोजक समितिको अनुमान छ । महोत्सवमा करिब एक सय वटा विभिन्न खाले स्टल रहने आयोजकले जनाएको छ ।

थारू कल्याणकारिणी सभा केन्द्रिय समिति, थारू विद्यार्थी समाज, थारू युवा सभा लगायत २५ वटा संस्थाले सो मेला आयोजना गर्न लागेका हुन् ।

यसअघि तीन वर्ष लगातार आयोजना हुन नसकेको महोत्सव काठमाडौंमा १९ औँ माघ मेलाका रुपमा आयोजना हुन लागेको हो । 


प्रतिक्रिया