निजामती सेवा ऐन दुई महिनाभित्र संसदमा टेबल गर्छु : मन्त्री मोदी

माघ १३, २०७९ | मोरङ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजमाती सेवा ऐन दुई महिनाभित्र संसदमा टेबल गर्ने बताउनु भएको छ । 

प्रेस सेन्टर मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री मोदीले सरोकारवालासँग छलफल भइरहेकोले चाँडै सबैको सहमतिमा कर्मचारीलाई न्याय हुने गरी निजामती सेवा ऐन संसदमा टेबल गर्ने बताउनु भएको हो । 

‘नयाँ सरकारले २० प्रतिशत कर्मचारी भर्ना गरेर काम गर्न पाउने व्यवस्थाको बारेमा समेत बहस र छलफल भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘अहिलेको प्रविधि युगमा यति धेरै कर्मचारी आवश्यक भए/नभएको बारेमा समेत अध्ययन गरिरहेको छु ।’

कर्मचारीहरुलाई आ–आफ्ना दरबन्दी भएको ठाउँमा हाजिर भएर काम गर्न निर्देशन दिएको मन्त्री मोदीले जानकारी दिनुभयो । ‘काठमाडौंमा नै बस्ने कर्मचारीको प्रवृति रहेकाले त्यस्ता बरण्डामा बस्ने कर्मचारीहरुको सूची बनाउँदै छु,’ उहाँले भन्नुभयो, ‘मन्त्रालयमा वर्षौंदेखि एउटै शाखा एकै जना कर्मचारी बसिरहेको अवस्थामा परिवर्तन ल्याउँछु ।’ 

मन्त्रालयमा कार्यरत कर्मचारीहरुलाई दुई वर्षमा शाखा परिवर्तन, ३ वर्षमा सरुवा, ४ वर्षमा पालिकामा काम गर्न जानुपर्ने मोदीको भनाइ थियो । कर्मचारीतन्त्रमा हालसम्म देखिएका बेथिति अन्त्य गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । ‘

सांसद तथा नेताहरुले आ–आफ्ना क्षेत्रका पालिकामा नाम तोकेरै प्रमुख प्रशासकीय अधिकृत पठाइदिन सिफारिस गर्न थालेका छन्,’ उहाँले भन्नुभयो, ‘पावर र पैरवीका आधारमा कुनै पनि कर्मचारीलाई सरुवा हुँदैन र कानून अनुसार कर्मचारीले तोकिएको ठाउँमा तोकिएको अवधिसम्म इमानदार भएर सेवा प्रवाह गर्नुपर्छ ।’ 

मन्त्री मोदीले सुशासन कायम गरेर जनतामा आशा जगाउने गरी सबैले आ–आफ्नो जिम्मेवारी इमानदारी पूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो ।   


प्रतिक्रिया