गेटालाई मेडिकल युनिभर्सिटी बनाउने सैद्धान्तिक निर्णय गरेका छौं : प्रधानमन्त्री दाहाल

फाल्गुन १, २०७९ | धनगढी

प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भएको बताउनु भएको छ । 

सोमबार गेटामै आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले गेटामा देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन आइतबारकै मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक निर्णय गरिसकेको जानकारी दिनुभयो । 

मन्त्रीहरु, मुख्यसचिव सहित सहभागी रहेको प्रधानमन्त्रीको टोलीले सोमबार गेटा मेडिकल कलेज/अस्पतालका लागि निर्माण भएका भौतिक पूर्वाधारहरुको अवलोकन तथा निरीक्षण समेत गर्नु भएको थियो । 

‘हिजो कै क्याबिनेट बैठकबाट शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने सैद्धान्तिक निर्णय भएको,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘अब मेडिकल कलेज चलाउने काम पनि तीब्र गतिमा अगाडि जान्छ र विश्वविद्यालय स्थापना प्रकृया पनि अघि बढीसकेको छ । अब मेडिकल कलेज माक्रै होइन, देशकै निम्ति गौरबको राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय यहाँ गेटामै बन्दैछ ।’

अवलोकन निरीक्षणका त्रममा प्रधानमन्त्री दाहालले मेडिकल कलेज सञ्चालनका लागि दरबन्दी पूर्तिका कामहरु पनि छिटै पूरा हुने गरिने बताउनुभयो । 

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग सुदूरपश्चिम क्षेत्रका पूर्व तथा बहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ र नेपाल सरकारका अधिकारीहरुले सयुक्त रुपमा भेट गरी कैलालीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा विकास गर्न आग्रह गर्नु भएको थियो । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले गेटा मेडिकल कलेजलाई मन्त्रिपरिषद्को बैठकबाट स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रकृया अघि बढाउने वचन दिनु भएको थियो । 

गेटामा मेडिकल कलेज निर्माण गर्नका लागि सरकारले करीब ६ अर्ब लागतमा भौतिक संरचना निर्माण गरिसकेको छ । तर चुनावको मुखमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री डडेलधुरामा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेपछि गेटामा निर्माण भएका संरचना के हुने भन्ने अन्योल थियो । 


प्रतिक्रिया