गैंडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

फाईल फोटो  

फाल्गुन ९, २०७९ | चितवन

चितवनको रत्ननगरमा गैंडाले आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । रत्ननगर–९ का ६० वर्गीय चन्द्रबहादुर तामाङको गैंडाको आक्रमणमा परी मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

आज बिहान सवेरै उनलाई गैंडाले आक्रमण गरेको निकुञ्जका सुचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

रत्ननगर–९ को लालपर्सा र मोहनाको बीचमा पर्ने बाटोमा उनलाई गैंडाले आक्रमण गरेको थियो । सो ठाउँ जंगलबाट निस्केका गैंडा ओहर दोहर गर्ने स्थान रहेको तिवारीले बताउनुभयो ।

दुईवटा गैंडा त्यो ठाउँमा देखिने गरेको हुँदा सावधानी अपनाउन तिवारीले स्थानियसंग अपिल गर्नुभएको छ । निकुञ्ज आसपासको गाउँ वस्ती, खेत र वन क्षेत्रमा वन्यजन्तुले बर्सेनि मान्छेलाई आक्रमण गर्दा अंगभंग हुने र ज्यानसमेत जाने घटना हुने गर्छन् ।

निकुञ्जका सुचना अधिकारी तिवारीका अनुसार यो आर्थिक वर्षमा यो घटनासहित वन्यजन्तुले आक्रमण गर्दा पाँचजनाको मृत्यु भएको छ । 


प्रतिक्रिया