झापामा यसरी मनाइयो होली

फाल्गुन २३, २०७९ | झापा

सेतो पहिरनमा अनेकन रंग । कोही फर्किदै, कोही जाँदै । आज मध्यान्ह १२ देखि अपरान्ह ४ बजेसम्म बिर्तामोडको मुक्तिचोकदेखि सात सय मिटर पूर्व सिटी सेन्टरसम्मको सडकको दुवैतर्फ युवायुवतीको भीडले खचाखच थियो । ट्राफिक प्रहरीलाई सडक व्यवस्थापनमा सकस भएको थियो ।

मंगलबार झापामा होली मनाउनेको उल्लाष उत्साहजनक थियो । जिल्लाको चोकचोकमा साँगीतिक ब्याण्ड र डिजेसहितको होली कार्यक्रमहरु आयोजना गरिएका थिए । बिर्तामोड, दमक, झिलझिले, भद्रपुर, धुलाबारी, काँकडभिट्टालगायतका स्थानमा युवाको ठूलो जमात भेला भएर नाचगानसहित होली मनाएका थिए ।

बजारका प्रायः पसल बन्द थिए । तर, होली मनाउनेहरुका कारण सडकहरुमा भीडभाड थियो । बिर्तामोडको सिटी सेन्टर मार्केटमा स्थानीय पूर्वेली युवा क्लबले डिजेसहितको होली कार्यक्रम आयोजना गरेको थियो । जिल्लाका विभिन्न स्थानबाट भेला भएका दश हजारभन्दा बढी युवायुवतीले सामूहिक नृत्य गर्दै होली मनाएका छन् । बिर्ताबजारमा स्थानीय इलाइट युवा क्लबले साँगीतिक ब्याण्डसहितको होली कार्यक्रम आयोजना गरेको थियो ।

बिर्तामोड ऊद्योग वाणिज्य संघसहितका संघसंस्थाले मंगलबार बिहान होली मिलन कार्यक्रम आयोजना गरेको थियो । कचनकवलको सुकुनाडिगीमा कचनकवल जेसिजले होली मिलन कार्यत्रम गरेको थियो । भद्रपुरमा कोचिला एकता जागरण समितिले बृहक्त सांस्कृतिक कार्यत्रमसहित होली पर्व मनाएको छ । होली मिलन कार्यक्रमहरुमा सहभागीले परम्परागत होली पर्व उल्लासमय तर, संयमित र खुशियालीसाथ मनाउन आपसमा शुभकामना आदानप्रदान समेत गरेका थिए । उनीहरुले आपसमा अबीर र विभिन्न रंग दलेर होली मनाएका छन् ।



प्रतिक्रिया