सिन्धुलीमा बस दुर्घटना: ६ जनाको मृत्यु, २८ घाइते

फाल्गुन २८, २०७९ | सिन्धुली

मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका ४ को कुहिभीरमा आज यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । अन्य २८ जना घाइते भएका छन् । सिन्धुली प्रहरीका अनुसार ओखलढुङ्गाबाट काठमाडौं आउदै गरेको बा २ ख ६५९६ नं को बस दुर्घटना भएको हो ।

मृत्यु हुनेमा एक बालक, दुई पुरुष र तिन महिला छन् । बसमा करिब ३४ जना यात्रु रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये पाँचजनाको अवस्था गम्भिर भएकाले हेलिकप्टर मार्फत काठमाडौं पठाउन लागिएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो । घाइतेहरुलाइ उद्धार गरि खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको छ ।

यसैबीच, पाल्पाको माथागढी गाउँपालिका–६, गोठादी चिलेपानीमा टिप्पर दुर्घटना हुंदा चालकको घटनास्थलमै मृत्यु भएको छ । टिप्परमा सवार अर्का एक जना घाइते भएका छन् । गोठादीबाट रहवासतर्फ जाँदै गरेको लु २ ख ११९६ नम्बरको टिप्पर दुर्घटना हुँदा सोही टिप्परका चालक रुपन्देही तिलोत्तमा नगरपालिका ११ गणेशनगरका ४० वर्षीय विष्णु गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बीरेन्द्र थापाले जानकारी दिनुभयो । 


प्रतिक्रिया