बैतडीमा जीप दुर्घटना परि बझाङको एकै गाउँका ६ जनाको मृत्यु

चैत्र २९, २०७९ | बैतडी

बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा गएराती जीप दुर्घटना हुंदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि बझाङको केदारस्यू गाउँपालिका ५ को बाँझ गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँझ गाउँका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामीको दुर्घटनामा परी मृत्यु भएको हो । गएराति ११ बजेतिर भएको दुर्घटनामा परि मृत्यु हुनेहरु सबै एकै गाउँका हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी प्रेम बहादुर शाहीका अनुसार मृतकहरु भारतको पिथौरागढबाट मजदुरी गरी विसु पर्व मनाउन घर फर्किदै थिए । खोडपे–बझाङ जोड्ने जयपृथ्बी राजमार्ग अन्तरगत पर्ने बैतडीको झुलाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको भण्डारी ट्रावल्सको जीप दुर्घटना भएको हो ।

जीप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । जीपमा यात्रारत अन्य ५ जना शकुसल छन् । उनीहरु जीप सडकबाट खस्ने क्रममा हाम फालेका थिए । प्रहरीका अनुसार जिपका चालक अर्जुन बोहरा सम्पर्कबिहिन छन् । 


प्रतिक्रिया