पाँच महिनापछि खुल्यो पूर्वाञ्चल विश्वविद्यालयको ताला

वैशाख ४, २०८० | विराटनगर

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको कार्यकक्षमा मंसिर १ गते प्राध्यापक संघले लगाएको ताला सहमतिपछि खुलेको छ । संघका मागप्रति विश्वविद्यालय प्रशासन उदासिन भएको भन्दै शिक्षकहरुले थप दबाब दिन पछिल्लो समय विश्वविद्यालयको केन्द्रीय कार्यालयका सबै निकाय र डिन कार्यालयमा थप तालाबन्दी गरेर धर्ना दिदै सम्पूर्ण सेवा ठप्प पारेपछि हिजो दुईपक्षीय वार्ता भएको थियो ।

वार्तामा सहमति जुटेपछि ताला खोल्दै आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको संघका अध्यक्ष यज्ञ प्रसाद जमरकट्टेलले बताउनुभयो । तर विभिन्न विद्यार्थी संगठनले मंसिरमै लगाएको विश्वविद्यालय सेवा आयोगको कार्यालयको तालाबन्दी भने कायमै छ ।

आयोगले पदपूर्तिका लागि खोलेको विज्ञापनलाई स्थगित गर्नुपर्ने र उम्मेदवारको उमेर हदलाई ४५ वर्षबाट ४० वर्ष कायम गर्नुपर्ने माग गर्दै विभिन्न विद्यार्थी संगठनले मंसिरमा तालाबन्दी गरेका थिए । विश्वविद्यालयले ३५ औँ सभामा आफुहरुलाई सहभागी नगराएको भन्दै मंसिर १ गते उपकुलपति प्राध्यापक डाक्टर यादवराज कोइराला र रजिष्ट्रार निलमणी पोखरेलको कार्यकक्षमा प्राध्यापक संघले तालाबन्दी गरेका थिए ।

पछिल्लो समय गत चैत १९ गते भएको विश्वविद्यालयको ११ औ दीक्षान्त सभामा पनि सहभागी नगराएको भन्दै विश्वविद्यालयको प्रााध्यापक संघले केन्द्रीय कार्यालयका सबै निकायमा तालाबन्दी गरेर धर्ना दिदै आएका थिए ।


प्रतिक्रिया