रेडियो कान्तिपुर रोड शो धरानबाट सुरु

वैशाख ५, २०८० | सुनसरी

रेडियो कान्तिपुर अन व्हिल्स म्यूजिक रोड शो धरानबाट सुरु भएको छ । धरानको घण्टाघर परिसरस्थित गणतान्त्रिक चौतारीको खुला मैदानमा हिजो सांझदेखि सुरु भएको म्यूजिक रोड शो वैशाख २९ गते काठमाडौंमा समापन हुने छ । युवा पुस्तालाई विभिन्न मनोरन्जनात्मक खेलका साथ सांगितिक आनन्द दिने उदेयश्यले रेडियो कान्तिपुरले मुलुकका प्रमुख शहरमा रेडियो कान्तिपुर अन व्हिल्स म्यूजिक रोड शो सुरु गरेको रेडियो कान्तिपुरका कार्यक्रम निर्देशक भूपेन्द्र खड्काले बताए । उनले भने, ‘रैथाने गायक कलाकारहरुलाई पनि रोड शोमा सहभागी गराउदै सांगितिक यात्रा सुरु गरेका छौं । साथै स्थानीय जनप्रतिनिधिहरुसंग पनि सकेसम्म भेटघाट गर्दै रेडियो कान्तिपुरले सम्बन्ध बढाउने प्रयास गरेका छौं यही रोड शो मार्फत ।’

धरानबाट सुरु भएको सांगितिक रोड शोमा नेपाली वव मार्लीको परिचय बनाएका लोक गायक गंगा वरदानले चर्चित पुरानो गीत ‘छपनीले छान छान डवकीले हान’ गीत गाएर फ्यानहरुलाई नचाएका थिए । उनले ‘धराने हावा तोङ्वाको पानी, यस्तै छ है यो जिन्दगानी’ ‘बजारै भरौन धरानै’ लगायत गीत सुनाए ।

गायिका इन्दिरा जोशीले पच्छ्यौरी, रेलिमाई, तिम्रो वानी लगायत गीत गाएर धराने दर्शकको मन तानेकी थिइन् । गणतान्त्रिक चौतरीमा मिनि ट्रकलाई रेडिमेड स्टेजको रुपमा सजाईको स्टेजबाट सुन्दरी गायिका जोशीले जोसिलो हुदै आफ्ना नया पुराना फ्यानहरुलाई ‘हेलो धरान’ भन्दै सम्बोधन गरेर गीत सुनाईन् । उनलाई कलाकारहरु विश्व नेपाली, इटहरीका गायिका गंगा विष्ट लगायतले साथ दिएका थिए ।

धरानबाट सुरु भएको रेडियो कान्तिपुरको रियल फिजिन रेडियो अन व्हिल्स रोड शो यात्रा इटहरी, झापाको दमक र विर्तामोड, मोरङको विराटनगर, जनकपुर, विरगंज, हेटौडा, नारायनगढ, धनगढी, नेपालगंज, सुर्खेत, बुटवल, पोखरा र काठमाण्डौ गरी १५ प्रमुख शहरमा हुने छ ।

रियल फिजिन, होण्डा, ग्लोवल आइएमई, सर्भो, धोनी, केएनपी नेराल्याक, व्राण्डवर्थको सहकार्यमा अयोजित रोड शोमा रवि ओड, कमल खत्री, मेलिना मैनालीलगायतले पनि विभिन्न शहरमा गीत सुनाउने छन् । रेडियो कान्तिपुरका आरजेहरु खड्का, संजोक बस्याल, दिपान्जली लामा, महेश लिम्बु र प्रियङ्का प्रसाईले पालैपालो कार्यक्रम होस्ट गरेका छन् । रोड शोमा विभिन्न क्वीज, मनोरन्जनात्मक खेलहरुमा दर्शक श्रोताहरुलाई सहभागी गराएर विजेतालाई उपहार प्रदान गरिएको थियो ।


प्रतिक्रिया