गण्डकीमा अझै सुरु भएन नयाँ सरकार गठन प्रक्रिया

वैशाख ११, २०८०

मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत गुमाएर पदच्यूत भएको ३ दिन पुग्दा पनि गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया सुरु हुन सकेको छैन । विशेष गरी कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो मुख्यमन्त्री बन्ने विषय पेचिलो बन्दा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आव्हान गरेका छैनन् । अधिकारीले गत शनिवार प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदच्यूत हुनु भएको थियो । 

आलोपालो मुख्यमन्त्री बन्ने केन्द्रमा एकप्रकारको समझदारी भएपनि पहिला कांग्रेस की माओवादीबाट बन्ने भन्ने विषय पेचिलो बनेको हो । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका अधिकारीले विश्वासको मत गुमाएपछि अवको सरकार कसरी गठन हुने भन्ने पनि अन्यौल देखिएको छ । संविधानको धारा १६८ को उपधारा २ या उपधारा ३ अनुसार सरकार गठन हुने भन्ने पनि अझै टुंगो लागेको छैन । उपधारा २ मा दुई या सोभन्दा बढी दलको बहुमतको सरकार र उपधारा ३ मा सवैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठन गर्न सकिने व्यवस्था छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङ अहिले के कसरी सरकार गठनका लागि आव्हान गर्ने भन्दै परामर्शमा हुनुहुन्छ । 

कांग्रेस संसदीय दलको बैठकले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको सांसद डिल्लीराम सुवेदीले बताउनुभयो । मुख्यमन्त्रीमा माओवादीको पनि दावी रहेको भन्दै उहाँले तनहुँको उपनिर्वाचनलाई पनि हेरिएको र परिणामले पनि असर परेकाले कुनै पनि हालतमा पहिलो चरणमा मुख्यमन्त्री माओवादीलाई नदिइने बताउनुभयो । एक बर्षलाई मात्रै भए पनि मुख्यमन्त्री दिनुपर्ने अडानमा माओवादी छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले अहिलेको सवाल गण्डकीको मात्रै नभएर संघ र सबै प्रदेशमा मिलाउनु पर्ने अवस्था रहेको बताउनुभयो । ६० सदस्यीय गण्डकीमा २७ सिटसहित कांग्रेस पहिलो दल रहेको छ । यसैगरी एमाले २२, सभामुखसहित माओवादी केन्द्र ८, राप्रपाको २ र स्वतन्त्रको एक सिट छ ।  


प्रतिक्रिया