लुम्बिनीमा चार सदस्यीय मन्त्रीपरिषद विस्तार

जेष्ठ ८, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज दोस्रो पटक मन्त्रीपरिषद विस्तार गर्नु भएको छ । उहाँले आफ्नो दल कांग्रेससहित गठबन्धनका थप तीन जनालाई मन्त्री बनाउनु भएको हो । विना विभागीय रहेका दुई मन्त्रीले पनि जिम्मेवारी पाउनु भएको छ । मुख्यमन्त्री निकट स्रोतका अनुसार आजै बेलुका ३ बजे सपथ ग्रहण गराउने गरी प्रदेश प्रमुखको कार्यालयमा जानकारी गराइएको छ । 

स्रोतका अनुसार जनमत पार्टीबाट रुपन्देहीबाट निर्वाचित चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्री, जसपाका ब।ँकेका भण्डारीलाल अहिरलाई कृषि तथा भुमी व्यवस्था, दाङका कांग्रेसका राजु खनाललाई स्वास्थ्य, बर्दियाका नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार र रुपन्देहीकै लोसपाका सन्तोषकुमार पाण्डेलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री बन्ने हुनु भएको छ । लोसपाका पाण्डेय र उन्मुक्तिका चौधरी झण्डै एक महिना अघि मन्त्री नियुक्त भएपनि विना विभागीय हुनुहुन्थ्यो । 

मुख्यमन्त्री चौधरीले यस अघि माओवादीका धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्री बनाउनु भएको थियो । माओवादीबाट बाँकेकी कृष्णा केसी र रोल्पाका दिपेन्द्र पुनको नाम यस अघि नै मन्त्री बनाउने गरी सिफारिस भएकोमा माओवादीका दिपेन्द्र पुनलाई मन्त्री बनाउन कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले दवाव दिएपछि रोकिएका छन् । माओवादीका पुनले निर्वाचनमा गठबन्धनबाट उम्मेदर बनेका कांग्रेस प्रदेश सभापति अमरसिंह पुनलाई बिद्रोही उठेर जित्नु भएको थियो । माओवादीबाट बिद्रोही उठेर अहिले पुन:माओवादीमै प्रवेश गरेकाले पुनलाई मन्त्री नबनाउन पुनको दवाव छ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चौधरी बैशाख १४ गते ८ दल र एक स्वतन्त्र गरी ५३ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । 

बजेट निर्माणको तयारीका बेला लामो समयसम्म मन्त्रीपरिषद विस्तार नहुँदा मन्त्रालयमा बजेट निर्माण र विभागीय निर्णयमा कठिनाई परेको भन्दै आलोचना बढेपछि मुख्यमन्त्री चौधरीले आज सानो आकारमा मन्त्रीपरिषद विस्तार गरेको सरकारका प्रवक्ता एवं मन्त्री सन्तोष पाण्डेयले बताउनु भयो । यसअघि गत बुधवार नै मन्त्रीपरिषद विस्तारको तयारी भएपनि कांग्रेसको आन्तरिक विवादले रोकिएको थियो ।


प्रतिक्रिया