विद्यार्थी बेहोस भएपछि विद्यालय बन्द

जेष्ठ ९, २०८० | कालिकोट

कालीकोटको महाबै गाउँपालिका–४ पदमघाटस्थित तिला माविका ३० जना विद्यार्थी बेहोस भएका छन् । सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेको बेला विद्यार्थीहरु अचेत भएर ढलेका थिए । बेहोस भएका मध्ये २० जनालाई विद्यालयमै प्राथमिक उपचार गरिएको थियो भने १० जनालाई थप उपचारका लागि ओदास्थित अस्पतालमा रिफर गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष करन सिंहले बताउनुभयो ।

विद्यार्थी बेहोस भएपछि चार दिनको लागि विद्यालय बिदा दिइएको छ । कक्षा कोठामै विद्यार्थी बेहोस भएपछि पठनपाठन बन्द गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश बहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार १० देखि १४ वर्ष उमेर समूहका बालबालिका बेहोस भएका थिए । अत्यधिक गर्मीले विद्यालय नजिकैको खोलामा पौडी खेलेर आएका विद्यार्थी कक्षा कोठामा पुगेपछि बेहोस भएको प्रधानाध्यापक शाहीले बताउनुभयो । शरीरमा पानीको कमीले डिहाइड्रेसन भएर विद्यार्थीहरु बेहोस भएको महाबै आधारभूत अस्पतालका डा. अरुण मण्डलले बताउनुभयो । अहिले विद्यार्थीको अवस्था सामान्य रहेको उहाँको भनाई छ ।


प्रतिक्रिया