प्रधानमन्त्रीको भारत भ्रमणमा भुटानी शरणार्थीको मुद्दा समावेश गर्न माग

जेष्ठ १६, २०८० | बिर्तामोड

भुटानी शरणार्थीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका क्रममा भुटानी शरणार्थीको स्वदेश फिर्ती मुद्दालाई समावेश गर्न माग गरेका छन् । स्वदेश फिर्तीको माग गर्दै आएको भुटान स्वतन्त्र जनमञ्चले एक विज्ञप्ति जारी गरी भुटानी शरणार्थीको स्वदेश फिर्तीको विषयमा समेत प्रधानमन्त्री दाहाललाई भारत सरकारका प्रतिनिधिसँग छलफल गर्न आग्रह गरेको हो ।

मञ्चले भारतसँग छलफल गरी भुटानी शरणार्थी स्वदेश फिर्तीका लागि नेपाल र भुटान सरकारबीच वार्ता–छलफलको वातावरण बनाउन आग्रह गरेको मञ्चका महासचिव धनवीर सुब्बाले जानकारी दिनुभयो । भुटानी शरणार्थीहरु ३० वर्षदेखि झापा र मोरङका शिविरमा शरणागत छन् । एक लाख १३ हजार ५ सय शरणार्थी अमेरिका, अष्ट्रेलिया लगायत ८ वटा पश्चिमा देशमा पुनर्वास कार्यक्रम अन्तर्गत गएका छन् ।

झापाको दमकस्थित बेलडाँगी र मोरङको पथरीशनिश्चरे शिविरमा गरी नेपालमा ६ हजार ५ सय भुटानी शरणार्थी बसोबासरत रहेको सुब्बाले जानकारी दिनुभयो । मञ्चले भुटानी शरणार्थीको नाममा विभिन्न आपराधिक गतिविधिहरु भएको प्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ । आपराधिक गतिविधिको नाममा भुटानी शरणार्थीको स्वदेश फिर्तीको अधिकार र चाहनामाथि कुनै आँच पुग्न नहुनेमा जोड दिएको छ । 



प्रतिक्रिया