पूर्व राज्यमन्त्री महेश चौधरीको निधन

जेष्ठ २४, २०८० | दाङ

पूर्व राज्यमन्त्री एवं एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य महेश चौधरीको निधन भएको छ । ७२ वर्षीय चौधरीको उपचारका क्रममा आज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा निधन भएको हो । हर्निया र लिभरको समस्याबाट ग्रसित चौधरीको स्वास्थ्यमा जटिलता आएपछि आज बिहान प्रतिष्ठानमा भर्ना गरिएको थियो । दंगीशरण गाउँपालिका–४ बैवाङ स्थायी घर भएका चौधरी हाल घोराही उपमहानगरपालिका १७ बेलभारमा बस्दै आएका थिए ।

अर्थशास्त्र र भुगोलमा एमए चौधरीले २०३५ सालदेखि महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा प्राध्यापन गरेका थिए । तत्कालिन नेकपा मालेको नीतिअनुसार प्राध्यापन छोडेर चौधरी २०४३ सालमा पूर्णकालिन राजनीतिमा लागेका थिए । उनी नेकपा एमालेको तर्फबाट २०४८ मा राष्ट्रिय सभा सदस्य र २०५४ मा स्थानीय विकास राज्यमन्त्री भएका थिए ।

संस्कृति र इतिहासको खोज अनुसन्धानमो दख्खल राख्न चौधरीले थारू, नेपाली र अंग्रेजी भाषामा थुप्रै अनुसन्धानमुलक कृति प्रकाशन गरेका छन् । पछिल्लो समय उनी राजनीतिबाट निष्कृय भई बेलभारमा प्राङगारिक मल उद्योग सञ्चालन गरिरहेका थिए । चौधरीका दुई छोरा, एक छोरी र श्रीमती छन् ।

नेकपा एमाले दाङले चौधरीको निधनप्रति दुख व्यक्त गरेको छ । एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले शोक वक्तव्य जारी गर्दै पार्टीले कुशल अभिभावक गुमाएको उल्लेख गरेका छन् । चौधरीको शव श्रद्धाञ्जलीका लागि बुधबार बेलुका घोराहीस्थित एमाले पार्टी कार्यालयमा राख्ने र बिहिबार विहान दंगिशरण गाउँपालिका–४ बैबाङस्थित बबई घाटमा अन्त्येष्टि गरिने एमाले जिल्ला सचिव बुढाथोकीले जानकारी दिए ।


प्रतिक्रिया