सुनकोशी दुर्घटना : भुर्तेलको शव एक सातापछि भेटियो, तीनै जनाको सनाखत

जेष्ठ २७, २०८० | सिन्धुली

सुनकोशी नदीमा जिप खस्दा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)का योजना महाशाखा निर्देशक यमप्रसाद भुर्त्तेलको शव ८ दिनपछि फेला परेको छ । उदयपुरको ताप्ले गाउँपालिका–५ निबुवाटारको सुनकोशी नदी किनारमा भुर्त्तेलको शव फेला परेको हो ।

भुर्तेलको शव कटारी अस्पतालमा पोष्टमार्टमपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । यसअघि सँगै यात्रा गरेका सीटीइभीटीको प्रशासन शाखाका निर्देशक कृष्ण केसी र विद्युत प्रशिक्षक भानु पौडेलको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले घटनास्थलबाट एक सय ५० मिटर तल फेला पारेको थियो ।

सुनकोशीमा जिप खस्दा बेपत्ता भएका तीनै जनाको शव फेला पारेर सनाखत भईसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । गत शुक्रबार भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीइभीटीको बा १ झ ७४६७ नम्बरको जिप सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ को लौकुनमा दुर्घटना भइ सुनकोसी नदीमा खसेको थियो । जिप नदीमा खस्दा त्यसमा सवार तीन जनाको मृत्यु भएको थियो । जिपका चालक भने दुर्घटनाकै क्रममा नदीमा पौडिएर बाँच्न सफल भएका थिए ।


प्रतिक्रिया