नेपालमा हरेक वर्ष २ हजार बढी महिलालाई पाठेघरको मुखको क्यान्सर

माघ ८, २०८१

नेपालमा हरेक वर्ष २ हजार भन्दा बढी महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य, शिक्षा सूचना तथा सञ्चार केन्द्रका अनुसार पाठेघरको मुखको क्यान्सरका कारण औसतमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुने गरेको छ । 

नेपालमा महिलामा सबैभन्दा बढी स्तन क्यान्सर हुने पाइएपनि मानवीय क्षति पाठेघरको मुखको क्यान्सरबाट बढी हुने गरेको छ । यही माघ २२ देखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई सो क्यान्सरविरुद्धको खोप दिने तयारी भइरहेका बेला केन्द्रले यससम्वन्धि तथ्याङ्कबारे जानकारी गराएको हो । केन्द्र एचपीभी खोपको प्रयोगबारे विभिन्न जानकारी समेत गराएको छ । काठमाडौंमा आज सञ्चारकर्मीसँगको अन्तक्रियामा राष्ट्रिय खोप कार्यक्रमका प्रमुख डा. अभियान गौतमले महिनावारी भएका बेला समेत महिलाले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन मिल्ने बताउनुभयो । 

१० देखि १४ बर्ष उमेर समूह भन्दा माथिका महिला, गर्भवती, खोप लगाउँदा विगतमा गम्भीर एलर्जी देखिएका महिलाले भने सो खोप लगाउन नमिल्ने उहाँको भनाइ छ । सरकारले सन् २०३० सम्ममा महिलामा हुने पाठेघरको मुखको क्यान्सर ९० प्रतिशत निवारण गर्ने लक्ष्य लिएको बताउनुभयो । खोप अभियानपछि सरकारले फागुन महिनामा ३० वर्ष माथिका महिलाहरुको पाठेघरको मुखको प्रारम्भिक जाँच गर्ने तयारी समेत गरेको छ । 


प्रतिक्रिया