सुनचाँदी व्यवसायको प्रवर्धन गर्न लागि महासंघ र प्रभु इन्स्योरेन्सबीच सम्झौता

माघ ९, २०८१ | काठमाडौं

सुनचाँदी व्यवसाय प्रवर्धन गर्ने विषयमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । सुनचाँदी व्यवसायको प्रवद्र्धन र व्यवसायीलाई आपतकालीन जोखिमबाट सुरक्षा प्रदान गर्ने विषयमा महासंघ र प्रभु इन्स्योरेन्सबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

यस समझदारीले सुनचाँदी व्यवसायीहरुको आर्थिक सुरक्षा सुदृढ गर्ने र सम्भावित जोखिम व्यवस्थापनका लागि ठोस कदम चाल्ने दिशामा दुवै संस्थाबीच सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ । 

सम्झौता अनुसार, प्रभु इन्सुरेन्सले सुनचाँदी व्यवसायीहरुका लागि विशेष बीमा योजना र सेवा प्रदान गर्नेछ । साथै आगलागी, चोरी, प्रकोप लगायत अनपेक्षित घटनाबाट हुने आर्थिक क्षतिलाई न्यूनिकरण गर्न गर्न मद्दत पु¥याउनेछ ।

साथै महासंघले व्यवसायीबीच बीमाको महत्वबारे जनचेतना अभिवृद्धि गर्न र व्यवसायको दिगोपनालाई प्रवर्धन गर्न प्रभु इन्सुरेन्ससँग सहकार्य गर्नेछ । सम्झौता पत्रमा महासंघका महासचिव निर बहादुर विश्वकर्मा र महासंघका कार्यालय प्रमुख राम महर्जन तथा प्रभु इन्सुरेन्स कम्पनीको तर्फबाट बजार विभाग प्रमुख समिर तामाङ र वित्त विभाग प्रमुख अरविन्द कुमार कर्णले हस्ताक्षर गर्नुभयो । 

कार्यक्रममा प्रभु इन्सुरेन्सका अध्यक्ष राजेन्द्र मल्ल, प्रमुख कार्यकारी अधिकृत सन्चित बज्रचार्य र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका किसान सुनारको उपस्थिति थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष किसान सुनारले यस समझदारीले सुनचाँदी व्यवसायीहरुको जोखिम व्यवस्थापनमा नयाँ सम्भावना खोल्ने बताउनुभयो । बीमाको माध्यमबाट व्यवसायीहरु थप सुरक्षित महशुस गर्नेछन् भन्दै उहाँले व्यवसाय विस्तारमा आत्मविश्वासका साथ अघि बढ्ने बताउनुभयो । 

त्यस्तै, प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले विशेष रुपमा डिजाइन गरिएको बीमा सेवा प्रदान गरेर सुनचाँदी व्यवसायको दिगो विकासमा सहयोग गर्न पाउँदा गर्व महसुस भएको बताउनुभयो । ‘समझदारीको उद्देश्य सुनचाँदी क्षेत्रको आर्थिक विकासलाई गति दिनुका साथै जोखिम व्यवस्थापनलाई व्यवस्थित बनाउनु हो’, मल्लले भन्नुभयो, ‘यो पहलले व्यवसायीहरुमाझ बीमाको पहुँच वृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।’ प्रभु इन्स्योरेन्स र महासंघले भविष्यमा पनि थप सेवा तथा कार्यक्रमहरु मार्फत व्यवसायीहरुको हितका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


प्रतिक्रिया