प्यूठानको स्वर्गद्धारीमा कार दुर्घटना, ८ जनाको मृत्यु (अपडेट)

जेष्ठ २९, २०८० | प्युठान

प्यूठानको स्वर्गद्धारीमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दाङतर्फ जाँदै गरेको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्धारी नगरपालिकाको भिगृ नजिकै टाकुरामा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । दुर्घटनामा चालक दाङको लमही नगरपालिका–५ का टंक बहादुर कुमाल सहित ३ जना पुरुष, एक जना महिला र ४ जना बालबालिकाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख उमेशराज जाशीले जानकारी दिनुभयो ।

मृत्यु भएका ८ मध्ये ७ जनाको शनाखत भएको र उनीहरु दाङका रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी सुवास खड्काले जानकारी दिनुभयो । दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का ३५ वर्षीय सरिता शर्मा पोख्रेल, उनका दुई छोरा १४ वर्षीय बिशाल पोख्रेल र ९ वर्षीय विकास पोख्रेल, लमही नगरपालिका–५ का ४९ वर्षीय कातारा बहादुर कुमाल, लमही–७ का ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमति ३० वर्षीया राधा र उनका ९ वर्षका छोरा आदित्यको दुर्घटनामा परि मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका मृतक मध्य एक जनाको शनाखत हुन बाँकी छ । दुर्घटनामा परेको कार अनियन्त्रित भएर उपल्लो घुम्तीबाट ३० मिटर तल अर्को घुम्तीमा खसेको थियो । स्वर्गद्धारीको दर्शन गरी फर्किएका तीर्थ यात्रीलाई बीच बाटोबाट कारमा राखेकाले मृतकको पहिचान हुन नसकेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख जोशीले बताउनुभयो ।  


प्रतिक्रिया